काठमाडौं । जहाँ पायो त्यहीबाट सडकमा बाटो क्रसगर्दै हुनुहुन्छ भने अब तपाई २ घन्टा लामो ट्राफिक शिक्षाको क्लासमा बस्नुपर्ने भएको छ ।
त्यसको लागि ट्राफिक प्रहरी कार्यालयले १२ जना प्रहरी निरीक्षकको नेतृत्वमा प्रशिक्षण टोली खटाउने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न चोकहरुमा जेब्राक्रस तथा आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रुलाई सडक पेटीमा ल्याएर २ घन्टा लामो प्रशिक्षण दिइने छ ।
जेब्रा क्रसिङ र आकाशे पुलको मुनिबाटै मानिस हिड्न थालेपछि महाशाखाले यस्तो कडा कदम चाल्न थालेको हो । यसरी जथाभावी बाटो काट्नेलाई समाएर दिइने प्रशिक्षण बिहान बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि साढे ६ बजेसम्म गरेर २ पटक गरिने छ ।

