यस्तो छ ‘विङ्गो प्रो’, नेपाल ल्याउने के छ योजना ?

काठमाडौं । विलिङले आफ्नो विङ्गो फ्यामलीमा नयाँ मोडल थपेको छ । कम्पनीले ह्याचव्याक सेग्मेन्टमा विङ्गो प्रो मोडल थप गरेको हो ।

चिनियाँ ग्रुपहरु एसएआइसी र विलिङ तथा अमेरिकी कम्पनी जनरल मोटरको संयुक्त लगानीमा स्थापना भएको विलिङ ब्राण्डले सन् २०२३ मा विङ्गो फ्यामलीमा पहिलो ह्याचव्याक कार विङ्गो सार्वजनिक गरेको थियो । नेपालमा पनि विङ्गो ह्याचव्याक पारामाउन्ट मोटर्सले बिक्री गर्दै आएको छ ।

विङ्गो प्रो मोडल रेगुलरको तुलनामा ठूलो छ । यसको लम्बाइ ४०५० एमएम, चौडाइ १७५८ एमएम र उचाइ १५८० एमएम छ । यसमा २५६० एमएम लामो ह्वीलवेस प्रयोग गरिएको छ । अहिले नेपालमा उपलब्ध विङ्गो ह्याचव्याकभन्दा प्रो मोडल लम्बाइमा १०० एमएम र चौडाइमा ५० एमएम ठूलो छ ।

पेटल स्टाइल ह्वीलको प्रयोग भएको ह्याचव्याक कारमा सर्कुलर हेडलाइट, सेमी हिडन डोर ह्याण्डल, क्लासिक लुक्स दिइएको छ । कम्पनीले यसलाई ६५ किलोवाट क्षमताको मोटरमा ल्याएको हो ।

विलिङले विङ्गो प्रो मोडलमा दुई ब्याट्री अप्सन दिएको छ । सानो ब्याट्री ३१.९ किलोवाट आवरको छ । ठूलो ब्याट्री भने ४१.९ किलोवाट आवरको छ । दुबै ब्याट्री बीच १० किलोवाट आवरको प्रस्ट अन्तर दिइएको छ । ठूलो ब्याट्रीले सीएलटीसी साइकल अनुसार ४३० किलोमिटर रेन्ज दिनेछ ।

चीनमा विलिङले राइट ह्याण्ड ड्राइभ कार उत्पादन गर्दैन । राइट ह्याण्ड बजारको लागि विलिङको इन्डोनेसिया प्लान्टमा कारहरु बन्दै आएका छन् । विशेषगरी चीनबाट आयातगर्दा भन्दा इन्डोनेसियाबाट ल्याउँदा महंगो पर्ने र हिटर पनि गाडीमा नहुने समस्या थियो । हिटरकै कारण विङ्गो ह्याचव्याक राम्रो गाडी भएर पनि नेपालमा ठूलो संख्यामा बिक्री सुरु हुन सकेको छैन ।

विङ्गो प्रो मोडलको राइट ह्याण्ड ड्राइभमा उत्पादनको योजना बाहिर आएकै छैन । त्यसैले यो गाडी कहिले नेपाल आउँछ भन्ने एकिन भन्न अझै केही महिना कुर्नु पर्ने हुन्छ ।


Back_to_top