काठमाडौं । विलिङ बिङ्गो नेपाल आएको केही दिन मात्रै भएको छ । यसलाई हामीले काठमाडौंका विभिन्न क्षेत्र र काभ्रेको मानेदोभानसम्म चलाएर हेरेका थियौं ।
झण्डै १४० किलोमिटर ड्राइभ गरेपछि मेरो अनुभवमा बिङ्गो पावर, फिचर र मूल्यको आधारमा उत्कृष्ट ह्याचब्याक हो । इन्डोनेसियामा उत्पादन भएको बिङ्गोमा दिइएको सिट, बुट स्पेश र ड्यासबोर्ड निकै राम्रो छ ।
टेष्ट ड्राइभका क्रममा सूर्यविनायक मन्दिरदेखि रानीकोटसम्मको उकालो र कच्चीबाटो, रानीकोटबाट मानेदोभानसम्मको ओरालो बाटो र मानेदोभानबाट लाकुरीभन्ज्याङसम्मको अफरोड यात्रामा बिङ्गोले आफूलाई अब्बल प्रमाणित गर्न सफल भयो ।
निकै आरामदायी सिट र राम्रो रेन्जको कारण सहरी क्षेत्रको यात्राका लागि बिङ्गो एक उपयोगी मोडल हो । यसको ड्यासबोर्ड निकै क्लासिकल लुक्समा पाउन सकिन्छ । दुई एलसीडी जोडेर तयार भएको इन्फोटेन्टमेन्ट सिस्टम र इन्ट्रुमेन्ट क्लष्टर साइज अनुसार निकै आकर्षक देखिन्छ ।
ड्राइभिङ रेन्ज
कम्पनीले यसको रेन्ज ३३० किलोमिटर दाबी गरेको छ । तर, यसको ब्याट्री साइज सुन्दा नै धेरैलाई रेन्ज पत्यार नलाग्न सक्छ । मेरो ड्राइभिङ अनुभवमा यसले मिश्रित सडक कन्डिसनमा २८० देखि ३०० किलोमिटरसम्म रेन्ज दिने देखियो ।

मैले झण्डै ५० प्रतिशत चार्ज खर्च गरेर १४० किलोमिटर चलाएको थिए । टेष्ट ड्राइभ भएको कारण सबै किसिमको टेस्ट गरेर हेर्दा ब्याट्री केही धेरै खाएको हुनुपर्छ । यही टेष्ट ड्राइभलाई आधार मान्दा पनि बिङ्गोले सहजै २८० किलोमिटर रेन्ज दिने देखियो ।
कम्पनीले यसमा ३१.९ किलोवाट आवर क्षमताको ब्याट्री र ४९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ ।
केही अनौठा कुरा
अहिलेसम्म बजारमा आएका गाडीमा विस्तारै ब्याट्री खपत बढ्दै जाने र बाँकी गुड्न सक्ने किलोमिटर देखाउँदै जाने गरेको पाइन्छ । तर, विलिङ बिङ्गोमा एक प्रतिशत ब्याट्री खपत भएपछि एकै पटक ३ किलोमिटर ‘रिमेनिङ रेन्ज’ घटेको देखिन्छ ।

अर्को पछाडि बस्ने प्यासेन्जरको लागि छुट्टै एसी भेन्ट छैन । तर, कारमा हावाको फ्लो सानो बनाउँदा पनि पछाडि एसीको चिसो पुग्छ । यसको एसी निकै स्ट्रोङ लाग्छ ।
गाडीमा ३० प्रतिशत ब्याट्री बाँकी हुँदा नै ब्याट्रीमा पहेँलो कलर देखिन्छ । २० प्रतिशतबाट तल आउँदा ब्याट्री रातो कलरमा परिणत हुन्छ । यदि १० प्रतिशतमा ब्याट्री झरेको खण्डमा एसी चल्दैन र गाडीको टप स्पीड पनि ५० किलोमिटरमा सीमित हुन्छ ।
ब्याट्रीको यो व्यवस्थाले चालकलाई समयमा नै गाडी चार्ज गर्न प्रेरित गर्छ । अर्को विषय यसमा दिइएको डीसी चार्जिङ पोर्टमा जीबीटी गन सपोर्ट गर्छ ।
अन्त्यमा, विलिङ बिङ्गो एक पर्फेक्ट सिटी कार हो । रेन्ज, फिचर र डिजाइन यसको बलियो पक्ष हो । क्लासिकल लुक्स र मोर्डन इन्टेरियरको कारण यसले धेरैको मन जित्न सक्छ । झट्ट हेर्दाभन्दा चलाएर हेरेपछि यसको पर्फमेन्सले जो कोहीलाई लोभ्याउन सक्छ ।
इन्डोनेसियामा बनेको कारमा हिटर छैन । तर, एसी निकै राम्रो छ । हिटर खोज्नेलाई केही निरास बनाउन सक्छ । अर्को देब्रे खुट्टा पार्क गर्न कुनै विशेष स्थान दिइएको छैन । त्यसबाहेक बिङ्गो उत्कृष्ट लाग्छ ।

