काठमाडौं । दुई जापानी अटोमोवाइल निर्माता कम्पनी टोयोटा र यामाहा मिलेर सन् १९६५ मा पहिलो पटक रेसिङ कार उत्पादन गरेका थिए भन्ने विषय धेरैलाई जानकारी नहुन सक्छ ।
‘२००० जीटी’ नामबाट ल्याएको उक्त कारलाई १९६७ सालमा बनेको ‘जेम्स बन्ड मुभी’मा प्रयोग गरिएको थियो । यो कार टोयोटाको ड्रिम प्रोजेक्ट थियो भने निसानसँग मिलेर यामाहाले यस्तै कार बनाउने काम अगाडि बढाएको थियो । निसान र यामाहा बीच सम्झौँता रद्ध भएपछि टोयोटा र यामाहा मिलेर यो प्रोजेक्ट गरेका थिए ।
सन् १९६३ बाट यो प्रजेक्टमा काम सुरु भएको भएपनि पहिलो प्रोटोटाइप सन् १९६५ मा मात्रै तयार भएको थियो । त्यसपछि कम्पनीले सन् १९६७ मे महिनाबाट यसलाई बजारमा ल्याइएको थियो ।

यसलाई कम्पनीले बजारमा ल्याउनु पहिले औषत गति प्रतिघन्टा ६, १२, २४, ४८ र ७२ मा परिक्षण गरिएको थियो । यी सबै प्रक्रियामा कारलाई १६ हजार किलोमिटरसम्म चलाएर परिक्षण गरिएको थियो ।
यो कारले १५०० देखि २००० सीसी सेग्मेन्टमा ३ वटा विश्व किर्तिमान र १३ वटा अन्तर्राष्ट्रिय रेकर्ड कायम गर्न सफल भएको थियो । औषतमा ५० हर्सपावरका कारको प्रयोग हुने समयमा आएको २००० जीटीले धेरैको मन जित्न सफल भयो । यसमा रहेको इन्जिनले १५० हर्स पावर प्रदान गर्ने गथ्र्यो ।

यसलाई कम्पनीले सन् १९७० मा उत्पादन बन्द भएको घोषणा गर्यो । अहिले टोयोटा म्यूजियममा यी सिरिजका ५ कार छन् । जसमा जेम्स बन्डले प्रयोग गरेको कार पनि राखिएको छ ।

