काठमाडौं । नेपालमा मोटरसाइकल आयातमा कडाई भएसँगै कम्पनीहरुले आफुसँग रहेका मोडलमा विभिन्न अफर सार्वजनिक गर्न थालेका छन् । यही क्रममा नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले धेरै सुविधासहितको नयाँ मासिक किस्ताको स्कीम सार्वजनिक गरेको हो ।
कम्पनीले ल्याएको फाइनान्स स्कीममा यामाहा एमटी १५ खरिद गर्नेका ग्राहकले मासिक ९ हजार १४७ रुपैयाँ किस्ता तिर्नेगरी मोटरसाइकल खरिद गर्न सक्ने छन् । एमटी १५ को अहिले ४ लाख ८३ हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री हुँदै आएको छ ।
नयाँ आएको स्कीममा एमटी १५ किन्ने ग्राहकले डाउन पेमेन्ट वापत मूल्यको ५० प्रतिशतले हुन आउने २ लाख ४१ हजार ९५० रुपैयाँ बुझाउनु पर्ने हुन्छ । त्यस पश्चात बाँकी रकम ३० महिनामा तिर्नेगरी मोटरसाइकल लिँदा ९ हजारभन्दा केही बढी मासिक बुझाउनु पर्छ ।
साथै, ग्राहकले १८ र २४ महिनमा बाँकी रकम तिर्नेगरी लिन चाहने ग्राहकले प्रति महिना क्रमशः १४ हजार ८८ रुपैयाँ र १० हजार ९४२ रुपैयाँ मासिक तिर्नु पर्ने हुन्छ ।
यामाहाले यही स्कीम आर १५ सिरिजमा पनि प्रदान गरिने जनाएको छ ।
कम्पनीले देशमा व्याप्त आर्थिक मन्दिको असरलाई ध्यानमा राखेर सेवाग्राहीलाई सरल किस्ताबन्दीमा यामाहाको अन्य कुनै पनि बाइक÷स्कुटर उपलब्ध गराउने उद्देश्यले गत शुक्रबारबाट स्कीम संचालन गरिरहेको छ ।
कम्पनीका अनुसार, उक्त योजनाअन्तर्गत यामाहाको आर १५ र एमटी १५ बाहेक अन्य बाइक÷स्कुटर लिन चाहने ग्राहकले ४० प्रतिशत डाउन पेमेन्टगरी १८, २४ र ३० महिनासम्मको अवधि तोकेर फाइनान्स सुविधा लिन सक्नेछन् ।


