यामाहाले आगामी महिनाबाट नयाँ प्रदुषण मापदण्ड बीएस–६ अनुसारको मोटरसाइकल बजारमा उतार्ने भएको छ । कम्पनीले नोभेम्बर महिनामा आफ्नो विषेश मोटरसाइकल आर थ्रीको फेसलिफ्ट सार्वजनिकसँगै नयाँ मापदण्डको इन्जिन ल्याउने भएको हो ।
विभिन्न भारतीय अटो मिडियाका अनुसार नयाँ आर थ्री केही विशेष परिमार्जन सहित डिसेम्बरबाट भारतीय बजारमा बिक्री सुरु हुनेछ ।
रेगुलर मोडल आर थ्रीको तुलनामा नयाँ मोडलमा निकै परिमार्जन सहित डियुल एलइडी हेडल्याम्प र फ्रन्ट फेयरिङ डिजाइनमा ठूलो परिवर्तन गरिएको छ । नयाँ आर थ्रीमा निकै परिमार्जन गरिएको फियुल ट्याङ्की र राइडिङ पोजिसन पुरानोको तुलनामा निकै राम्रो रहेको छ ।
कम्पनीले यसमा ३२१ सीसी इनलाइन टुइन सिलिण्डर लिक्वीड कुल्ड डिओएचसी, फियुल इन्जिेक्टेड इन्जिन दिइएको छ । जसले १०५०० आरपीएममा ४२ पीएस पावर र ९००० आरपीएममा २९.६ एनएम टर्क जेनेरेट गर्छ ।
नयाँ आर थ्रीको अगाडि टेलिस्कोपिक फर्क र पछाडि प्रिलोडेड एड्जस्टेवल मोनोसक सेटअप दिइएको छ । कम्पनीका अनुसार नयाँ मोडलमा पहिलेभन्दा राम्रो स्टेविलिटी र कन्ट्रोल रहेको छ ।
दुबै चक्कामा डिस्क ब्रेक रहेको यो मोटरसाइकलमा नन् स्विचेवल डियुल च्यानल एबीएस फिचर दिइएको छ । यी सबै फिचरका कारण नयाँ आर थ्री पुरानोको तुलनामा केही महंगो हुनेछ ।
नेपाली बजारमा समेत उपलब्ध यामाहा आर थ्रीको मूल्य ९ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । अब आउने नयाँ मोडलको मूल्य करिब १० लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।


