काठमाडौं । यामाहा इन्डियाले १५५ सीसी सेग्मेन्टमा आधारित एनम्याक्स स्कुटरको नयाँ भेरियन्ट ल्याउने भएको छ । कम्पनीले भारतीय बजारमा नयाँ एनम्याक्स १५५ उत्पादनका लागि पेटेन्ट फाइल दर्ता गराएको हो ।
यामाहाले भारतमा नयाँ भेरियन्ट एनम्याक्स १५५ मा धेरै फिचरहरू अपडेट गरेर ल्याउने भएको हो । कम्पनीले नयाँ एनम्याक्सलाई एनम्याक्स १५५ टेक म्याक्स भेरियन्टका रूपमा बजारमा ल्याउन लागेको हो । यो स्कुटर युरोपियन बजारमा पहिलैबाट बिक्री भइरहेको मोडल हो । भारतीय बजारमा भने उत्पादनका लागि हालै पेटेन्ट फाइल दर्ता गरिएको हो ।
पुरानो स्पोर्टी म्याक्सी एनम्याक्सभन्दा निकै टेक फिचर र आक्रामक बडी डिजाइन थपिएर आउने नयाँ भेरियन्ट भने पूर्ण म्याक्सी डिजाइनको स्कुटर हो । एरोडाइनामिक बडी डिजाइनमा रहेको एनम्याक्स टेक म्याक्समा टीएफटी डिस्प्ले, कनेक्ट सिस्टम, नेभिगेसन लगायतका अन्य स्मार्ट सुविधाहरू पाइन्छ ।
साथै, प्रोजेक्टर एलईडी हेडलाइट सेटअप, डीआरएल, विन्ड प्रोटेक्सन, अलोय ह्वील, ग्यास चार्जड् रियर ट्वीन सक सेटअप, डबल डिस्कब्रेक, एबीएस, ठूलो स्टोरेज, यूएसबी पोर्ट, स्मार्ट की र डाउन सिफ्ट स्विच दिइएको छ । डाउन सिफ्ट स्विचले ड्युल स्टेज सीभीटी गियरबक्सबाट बढी टर्क उपलब्ध गराउन सहयोग गर्छ ।
यो नन स्टेप थ्रु स्कुटर हो । जसको मध्यभागमा केन्द्रिय स्पाइन हुन्छ । एनम्याक्समा उक्त स्पाइनमा ७.१ लिटरको इन्धन ट्याकं राखिएको छ । एनम्याक्स टेक म्याक्समा १५५ सीसीको सिंगल सिलिण्डर, एसओएचसी, फोर भल्ब, लिक्विड कुल्ड इन्जिन छ । यो इन्जिनले अधिकतम १५.१ पीएस पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ ।


