काठमाडौं । यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यूले नेपाली बजारमा विग बाइक भित्र्याउने भएको छ । कम्पनीले विग बाइक सेग्मेन्टमा यामाहा आर ६, टी-म्याक्स, एमटी ०९ र बोल्ट नेपाल ल्याउन लागेको हो ।
कम्पनीले विग बाइकको छुट्टै शोरुम स्थापना गरेर यी महंगा मोटरसाइकलको विक्री वितरण गर्ने छ । त्यसको लागि कम्पनीले नयाँ शोरुम निर्माण गरिरहेको छ ।
यामाहाले विगत दुई वर्षदेखि ‘विग बाइक’ को छुट्टै शोरुम खोलेर विक्री गर्ने योजना सुनाएको थियो । दुई वर्षअघि कम्पनीका प्रबन्ध निर्देशक विष्णु अग्रवालले नेपालमा यामाहाका प्रिमियम मोटरसाइकल विक्रीको लागि छुट्टै शोरुम निर्माण गर्न लागेको जानकारी दिएका थिए ।
एमएडब्ल्युले नेपाली बजारमा भित्र्याउने तयारी गरेको मोटरसाइकल वाइजेडएफ आर-६ स्पोर्टस ६०० सीसी क्षमताको मोटरसाइकल रहेको छ । त्यस्तै टी-म्याक्स म्याक्सी स्कुटर ५६० सीसी, एमटी ०९ नेकेड ८५० सीसी र बोल्ट ९५० सीसी क्षमताको क्रुजर मोटरसाइकल हो ।
अहिले नेपालमा विग बाइक एमभी अगष्टा, होन्डा, हार्ले, डुकाटी जस्ता कम्पनीले बिक्री वितरण गर्दै आएका छन् । यस्तोमा कम्पनीले ल्याउने नयाँ विग बाइकको प्रतिस्पर्धा यीनै ब्राण्डहरुसँग हुने छ ।
यामाहाले नेपाल ल्याउने यी बाइकको मूल्य ३५ लाखदेखि ४० लाखसम्म रहने अनुमान गरिएको छ ।

