डब्लूआर १५५ आर टेष्ट राइड : एक बाइक ४ कम्बिनेशन (भिडियो रिपोर्ट)

काठमाडौं । झट्ट हेर्दा प्योर डर्ट बाइक जस्तो । पावर स्पोर्टस बाइक जस्तो । वेट ट्रेल बाइक जस्तो । बायाँतर्फ एक्जष्ट भएको । कम्युटर मोटरसाइकलले जस्तो माइलेज दिने । यतिभन्दा तपाईको दिमागमा कुन मोटरसाइकल आयो होला ?

हो ठ्याक्कै यी माथिका ४ कम्बिनेशन यामाहाले नेपालमा हालै बिक्री सुरु गरेको डबल पर्पस मोटरसाइकल डब्लूआर १५५ आरसँग हुबहु मेल खान्छ ।

यामाहाको डब्लूआर झट्ट हेर्दा प्योर डर्ट बाइक जस्तो देखिन्छ । २४५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकल जस्तो सुकै अफरोडमा पनि लैजान सकिन्छ । तौल केबल १३४ किलोग्राम छ । यती कम तौल भएको मोटरसाइकल लड्दा पनि सजिलै उठाउन सकिन्छ ।

इन्जिन र अन्य फिचर

यामाहाले इन्ट्रिलेवल स्पोर्टस मोटरसाइकलमा भएको इन्जिन दिएका कारण डब्लूआर १५५ आरमा थोरै एसेलेरेसन बढि भयो भने ह्वीली हानि हाल्छ । यसमा १५५ सीसीको सिंगल सिलिन्डर लिक्वीड कुल्ड भीभीए इन्जिन छ । यो इन्जिनले १६ पीएस पावर तथा १९ एनएम टर्क दिन्छ ।

भीभीए टेक्नोलोजीको कारण यसको लोइन्डमा ज्यादा टर्क र हाइइन्डमा ज्यादा पावर दिन्छ । पावर टू वेट रेसियोका कारण पनि यसको पफमेन्स अझै राम्रो भएको हो ।

डर्ट बाइकमा जस्तो सानो साइजको फ्यूल ट्याङ्क दिइएको छ । यसको क्षमता ८ लिटरमात्र भएतापनि आरामले ३५० किलोमिटर हारहारीमा रेन्ज दिन्छ । यामाहाको स्कुटर जस्तै माइलेज यो मोटरसाइकलको पनि उत्कृष्ट छ ।

अफारोड मोटरसाइकलमा हुनैपर्ने लङ ट्राभल सस्पेन्सन यसमा छ । फ्रन्टमा ४१ एमएम र रियरमा एड्जष्टेवल मोनोशक सस्पेन्सन छ । अफरोडमा सस्पेन्सले गज्जबको काम गर्छ ।

अप राइट ह्यान्डल भएका कारण स्याड्लिङ गर्दा पनि हातमा प्रेसर आउँदैन् । अप राइट ह्याण्डलबारले एड्भेन्चर टूररको फिल दिन्छ । चलाउन एकदमै सहज छ ।

ब्रेकिङमा दुबै तर्फ डिस्क ब्रेक भएतापनि यसमा एबीएस भने छैन । अफरोडमा मोटरसाइकल चलाउँदा एबीएसको आवश्यकता महशुस नै हुँदैन । डबल पर्पस भनिएको यामाहा डब्लूआर १५५ आर मोटरसाइकलमा सिटीमा साइड गर्दा पावरको कारण एबीएसको कमी महशुस हुन्छ ।

मूल्यको कुरा

फिचरका कुरा गर्दा यसमा धेरै जसो बाइकमा हुने फिचर सबै छन् । यसमा फुल्ली डिजिटल इन्स्टुमेन्ट क्लस्टर छ । जहाँ ट्रिप मिटरदेखि गियर इन्डिकेटरसम्मका सबै जानकारी पाउन सकिन्छ ।

एकदमै सुरुवाती चरणमै डबल पपर्स मोटरसाइकल किन्न खोज्नेदेखि प्रोफेसनल एन्ड्यूरो राइडरसम्म सबैलाई हुने मोटरसाइकलको मूल्य ७ लाख ५० हजार रुपैयाँ छ । इन्डोनेशियामा बनेको यो मोटरसाइकलको क्वालिटी र पर्फमेन्स हेर्दा यो मूल्य अन्य प्रतिस्पर्धी भन्दा धेरै अगाडि छ ।

सुधार गर्दा राम्रो

यामाहा डब्लूआर १५५ आर मोटरसाइकलमा केही कमजोरी पक्कै छन् । यसमा स्वीचएबल एबीएस जरुरी छ । अफरोडमा बन्द गर्न मिल्ने र कम्युट गर्दा अन गरेर चलाउन मिल्ने एबीएस भए सुनमा सुगन्ध नै हुन्थ्यो ।

यसरको रियर भ्यू मिरर एकदमै सानो लाग्छ । पछाडिको भ्यु नै देख्न मुस्किल हुन्छ । यसमा मैले देखेको अर्को कमजोरी भनेको यसको फुटपेग र ब्रेक प्याडल एकदमै नजिक छ । स्याड्लिङ गर्दा खासै फरक नपरेपनी कम्युट गर्दा भने केही अप्ठ्यारो महशुस हुन्छ ।


Back_to_top