काठमाडौं । चिनियाँ कार निर्माता बीवाइडीले पानीमा तैरेर गुड्ने कारपछि खाल्डाखुल्डीमा जम्प गर्ने कार ल्याएको हो । यसले खाल्डो मात्र होइन २.५ मिटर लामो कुनै पनि अफ्ठ्यारालाई उफ्रेर पार गर्नेछ ।
बीवाइडीको प्रिमियम ब्राण्ड याङवाङको यु-९ मोडलमा यस्तो फिचर समेटिएको हो । कम्पनीको यु-८ मोडल पानीमा तैरेर गुड्न सक्ने क्षमताको छ । बीवाइडीले यु-९ लाई सुपरकार भनेको छ । यसमा दिएको ‘डिसियुस एक्स सस्पेन्सन’ र हाइड्रोलिक सिस्टमको सहायताले कार जम्प गर्न सक्छ ।
अटोनोमस ड्राइभिङ सिस्टम रहेको कारलाई जम्प गर्न १२० किलोमिटर प्रतिघन्टाको स्पीड चाहिन्छ । स्पीडमा आएको कारले २.५ मिटरसम्म जम्प मार्नेछ । उक्त सिस्टम निर्माणको लागि कम्पनीले डीजीआई र होराइजन रोवटीकसँग सहकार्य गरेको हो । यसका अलवा बीवाइडीले अन्य धेरै जानकारी बाहिर ल्याएको छैन ।
कम्पनीले चीनमा यु-९ सुपरकारको मूल्य २ लख ३० हजार अमेरिकी डलर तोकेको छ । यसलाई बुकिङ गरेर बस्ने ग्राहकले ६ महिनापछि कार डेलिभरी पाउने बीवाइडीले जनाएको छ । कम्पनीको ई-४ प्लेटफर्ममा बनेको यु-९ मा अनौठा फिचर टन्नै हुनेछन् ।
अल ह्वील ड्राइभ सिस्सटमा आउने कारमा सबै मोटरको संयुक्त पावर ९६० किलोवाट हुनेछ । यसको पीकटर्क भने १६८० एनएम छ । यसले सून्यदेखि १०० किलोमिटरको स्पीड केबल २.३६ सेकेन्डमा भेट्टाउने छ ।
बीवाइडीले ८०० भोल्ट आर्किटेक्चरमा तयार पारेको यु-९ को ब्याट्री साइजको विषयमा कुनै जानकारी प्राप्त भएको छैन । तर, यसमा रहने ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल १० मिनेट लाग्नेछ ।


