यात्री पी-वानको चेचिस फेरिने, यस्तो छ कम्पनीको तयारी

काठमाडौं । नेपाली इलेक्ट्रीक मोटरसाइकल ब्राण्ड यात्रीको पी-वान मोडल दुर्घटना भएको तस्बिर सामाजिक संजालमा चर्चा भइरहेको छ । कम्पनीको उत्पादन र गुणस्तरको विषयमा विविध प्रश्न उठेसँगै कम्पनीले एक विज्ञप्ती नै जारी गरेको हो ।

यात्री मोटरसाइकले जारी गरेको विज्ञप्ती अनुसार कम्पनीले पी-वान मोडलको नयाँ भर्सन बजारमा ल्याउने तयारी गरिरहेको उल्लेख गरेको छ । कम्पनीले शोसल मिडियामा चर्चा भइरहेको तस्विर जेठ ८ गते नै खिचिएको बताउँदै आन्तरिक परीक्षण मात्रै भएको प्रस्ट गरेको छ ।

 

कम्पनीको विज्ञप्तीमा तीन बुँदा राखिएको छ । त्यसको दोस्रो बुँदामा भनिएको छ, ‘हामीले पहिले नै बिक्री गर्दै आएको पी-वान मोडलको परीक्षण किन गरिरहेको छ भन्ने प्रश्न उब्जेको छ । जुन जायज छ । पहिले नै उल्लेख गरिएझैँ उत्पादन गरेर डेलिभरी गरिएको पी-वान चेसिससमेत प्रमाणिकरण भइसकेको छ । यद्यपि, यस परिक्षणद्धारा हामी नयाँ संस्करणको लागि फरक चेचिस परीक्षण गरिरहेका छौं ।’

कम्पनीको विज्ञप्तीले नै नयाँ चेचिससहित पी-वान मोडल चाँडै बजारमा आउन लागेको अनुमान गर्न सकिन्छ । त्यो कुरालाई कम्पनीले पनि प्रस्ट पारेको छ । नयाँ चेसिस पहिलेको तुलनामा तौलमा कम र लम्बाईमा छोटो हुने कम्पनीले जनाएको छ ।

लामो समयसम्म यातायात ऐन वाधक बन्दै दर्ता हुन नसकेको यात्रीका उत्पादनले नम्बर प्लेट पाउन थालेसँगै कम्पनीले तिब्र गतिमा उत्पादन बढाउने योजनासहित काम सुरु गरेको हो ।


Back_to_top