नेपालमा थपिने भयो नयाँ ब्राण्डको मोटरसाइकल, एकै पटक तीन मोडल आउने

काठमाडौं । क्लासीक मोटरसाइकल ब्राण्ड जावा विक्री गर्दै आएको अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटो इंकले नयाँ ब्राण्ड येज्दी नेपाल ल्याउने भएको छ । भारतमा केही दिनअघि विक्री सुरु भएको येज्दीका उत्पादन कम्पनीले नेपाल ल्याउने प्रक्रिया सुरु गरेको हो ।

भारतीय व्यवसायीक समूह महिन्द्रा एण्ड महिन्द्राले क्लासिक लेजेन्ड जावा, येज्दी र बीएसकाको स्वामीत्व खरिद गरेर भारतमा नै उत्पादन सुरु गरेको हो । नेपालमा जावा अघिल्लो वर्ष आएको थियो भने येज्दी अबको केही महिनामा नेपाल आउने छ । कम्पनीले जावाको शोरुमबाटै येज्दीको पनि विक्री वितरण गर्नेछ ।

क्लासीक लेजेन्ड भनेर चिनिने ब्राण्ड येज्दीले स्क्रायम्बलर, क्रुजर र एड्भेन्चर गरी तीन मोडल भारतमा विक्री सुरु गरेको छ । सम्भवत नेपालमा पनि यी तीनवटै मोडल उपलब्ध रहने छन् ।

येज्दीले उत्पादन सुर गरेका मोटरसाइकल नेपाल ल्याउने प्रक्रिया सुरु भएको जानकारी दिदै कम्पनी स्रोतले भन्यो, ‘नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । नेपाली नयाँ वर्षको आसपासमा यसको विक्री सुरु गर्ने योजना बनाएका छौं ।’

येज्दीले बजारमा ल्याएको तीनवटै मोडलमा समान ३३४ सीसी क्षमताको सिंगल सिलिण्डर, डिओएचसी, लिक्वीडकुल्ड इन्जिन दिएको छ । तर, कम्पनीले मोडल अनुसार यसको ट्यूनिङ गरेर फरक पावर दिएको छ ।

यी मोटरसाइकलमा डबल च्यानल एबीएस उपलब्ध रहेको छ । एलइडी हेडल्याम्प र टेलल्याम्प, एलइडी इन्डिकेटर, ह्याण्डलबार नजिक दिइएको यूएसबी पोर्ट, दुबै चक्कामा डिस्क ब्रेक जस्ता फिचर उपलब्ध रहेका छन् ।


Back_to_top