काठमाडौं । सरकारले ट्याक्सीको नयाँ मापदण्ड जारी गर्ने तयारी गरेको छ । नयाँ बनेको मापदण्ड अनुसार अब ट्याक्सी अर्डिनरी, डिलक्स र लग्जरी गरी तीन फरक भेरियन्टमा उपलब्ध हुनेछ ।
आफ्नो खर्च गर्ने क्षमता र आवश्यकता अनुसार ट्याक्सी उपभोक्ताले प्रयोग गर्न सक्ने छन् । यातायात ब्यवस्था विभागले ‘ट्याक्सीको रुपमा प्रयोग हुने सवारी सम्बन्धी मापदण्ड २०८०’ले यात्रुको सुविधा र सुरक्षालाई विशेष महत्व दिएर ऐन निर्माणको प्रस्ताव गरेको हो ।
नयाँ मापदण्ड अनुसार ट्याक्सीमा न्यूनतम सुरक्षा फिचरमा एबीएस, इबीडी, दुई एयरब्याग, सिट बेल्ट रिमाइन्डर, हाइस्पीड अर्लट, रियर भ्यू क्यामेरा, सेन्ट्रल लक, चाइल्ड लक, पार्किङ सेन्सर जस्ता फिचर अनिर्वाय गरिएको छ ।
विभागले पेट्रोलियम पदार्थ, विद्युतीय, बायोग्यास जस्ता इन्धन स्रोतबाट चल्ने मापदण्ड पुरा गरेका गाडीलाई ट्याक्सीको रुपमा चलाउन मिल्ने उल्लेख गरेको छ । तर, बागमती सरकारले यसअघि नै सबै ट्याक्सी विद्युतीय हुनु पर्ने ब्यवस्था गरिसकेको छ ।
प्रिन्टर सिहतको डिजिटल भाडा मिटर, जीपीएस न्याभिगेसन, यात्रु खोज्दा हरियो बत्ती, यात्रु बोकेपछि रातो बत्ती र पार्किङमा राख्दा सेतो बत्ती बाल्नु पर्ने अनिर्वाय नियम प्रस्ताव गरिएको छ ।
विभागले ट्याक्सीको भाडादरमा फरक बनाउन अर्डिनरीको तुलनामा डिलक्स ट्याक्सीको भाडा २० प्रतिशत बढी र लग्जरी ट्याक्सीको १०० प्रतिशत बढी गर्ने प्रस्ताव गरिएको छ ।
यस्तो छ ट्याक्सीको मापदण्ड
साधारण ट्याक्सीको रुपमा अहिलेकै जस्तो ८०० सीसी माथिका गाडीलाई ट्याक्सी बनाउन पाइने छ । पावर हकमा ३० किलोवाट क्षमताको मोटर वा सोभन्दा माथिका हुनु पर्नेछ । यो विद्युतीयमा पनि लागु हुन्छ । त्यसैगरी टर्क ६० एनएम वा त्योभन्दा बढी, ह्वीलवेस २३०० एमएम वा त्योभन्दा माथि र बुट स्पेश १६० लिटर वा सोभन्दा माथि हुनु पर्ने उल्लेख छ । साधारण ट्याक्सीमा मनोरन्जनको लागि न्यूनतम एउटा स्पीकर हुनु पर्नेछ ।
डिलक्स ट्याक्सीको हकमा १२ सीसी वा सोभन्दा माथिको इन्जिन हुनुपर्छ । विद्युतीयको हकमा ब्याट्रीमा संचित हुने उर्जा र सवारीको कुलभार बीचको न्यूनतम अनुपात ०.०१९ हुनु पर्नेछ ।
त्यसैगरी डिलक्स ट्याक्सीको पावर न्यूनतम ५० किलोवाट, टर्क ८० एनएम, ह्वीलवेस २४०० एमएम र बुट स्पेश २०० लिटरको हुनुपर्ने छ ।
मनोरन्जनको लागि डिलक्स ट्याक्सीमा साउन्ड सिस्टम, टच स्कृन, अटोमेटीक झ्याल, एसी/हिटर र पछाडि रिडिङ ल्याम्प हुनु पर्नेछ ।
लग्जरी ट्याक्सीमा २००० सीसी वा त्योभन्दा माथिको इन्जिन अनिर्वाय गर्न प्रस्ताव गरिएको छ । विद्युतीयको हकमा ब्याट्री पावर र साधनको तौल बीच ०.०२५ को फरक हुनुपर्ने उल्लेख छ ।
लग्जरी ट्याक्सीको पावर न्यूनतम १०० किलोवाट, टर्क १७० एमएम, ह्वीलवेस २७०० एमएम र बुट स्पेश ४०० लिटरको हुनु पर्नेछ । यस्ता ट्याक्सीमा साउन्ड सिस्टम, पछाडि बस्ने यात्रुको लागि टच स्कृन, अटोमेटीक विन्डो, एयर प्यूरिफायर सहितको अटोमेटीक क्लाइमेट कन्ट्रोल, रियर एसीभेन्ट, पछाडि हेड रेष्ट, पछाडि आर्मरेष्ट अनिर्वाय हुनु पर्नेछ ।
त्यसैगरी अगाडि र पछाडि नै कप होल्डर, रिडिङ ल्याम्प, वाइफाइको सुविधा, पछाडिको यात्रुलाई मोवाइल फोन चार्जर, हेड रुम र लेग रुम १००० एमएम हुनु पर्ने उल्लेख छ ।

