तीन मिनेटमै २ लाख युनिट बिक्री भएको इलेक्ट्रीक एसयूभी

काठमाडौं । बिक्री खुल्ला भएको ३ मिनेटमै २ लाख युनिट कार बिक्री भयो भन्दा धेरैले पत्याउनै सक्दैनन् । तर, चीनकै सबैभन्दा कान्छो स्टार्टअप मोटर कम्पनी साओमीको वाईयू-सेभन एसयूभीले यो पत्याउनै नसकिने बिक्री पाएको हो ।

साओमीको दोस्रो मोडलको रुपमा बजारमा आएको वाइयू-सेभेनको मूल्य सार्वजनिक सँगै बिक्री पनि खुला भएको थियो । चीन बाहिर अहिलेसम्म साओमीले आफ्नो उत्पादन बिक्री गरेको छैन । वाइयू-सेभेनको मूल्य ३५ हजार अमेरिकी डलर कायम गरेर चीनमा बिक्री सुरु गरेको हो । यसको टप भेरियन्ट किन्ने ग्राहकले ४६ हजार डलरसम्म तिर्नु पर्ने हुन्छ ।

अग्रिम बुकिङ गर्ने उपभोक्ताले ७०० डलर बुकिङ रकम तिरेका छन् । बुकिङ खुला भएको पहिलो एक घन्टामा २ लाख ८९ हजार युनिट कार बुकिङ भएको साओमीले जनाएको छ ।

सन् २०२४ मार्चमा एसयू-सेभेन मोडल ल्याएको साओमीले पहिलो वर्ष २ लाख ७२ हजार युनिट बिक्री गरेको थियो । वाइयू-सेभेन कम्पनीको दोस्रो मोडल हो ।

साओमीले आफ्नो दोस्रो मोडलमा ९६.३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ८३० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । यसको रियर ह्वील ड्राइभ भर्सनमा २३५ किलोवाट क्षमताको मोटर छ ।

अल ह्वील ड्राइभको पछाडि २३५ र अगाडि १३० किलोवाटको मोटर छ । दुबैको संयुक्त पावर ३६५ किलोवाट (४८९ हर्सपावर) हुनेछ । अल ह्वील ड्राइभ भेरियन्टको सीएलटीसी रेन्ज ७७० किलोमिटर छ ।

यसको सबैभन्दा महंगो ४६ हजार डलर पर्ने भेरियन्टमा निकै पावरफुल मोटर छ । यसमा ५०८ (६८१ हर्सपावर)को मोटर पाउन सकिन्छ । यसले सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड केबल ३.२३ सेकेन्डमा भेट्टाउने छ । यस भेरियन्टमा भने १०१.७ किलोवाट आवरको हाइपर्फमेन्स एनएमसी ब्याट्री छ ।

यसका फिचर जस्तै गाडी पनि निकै ठूलो छ । साओमीले ८०० भोल्ट आर्किटेक्चरमा बनाएको वाइयू-सेभेनको लम्बाइ ४९९९ एमएम, चौडाइ १९९६ एमएम र उचाइ १६०८ एमएम छ । यसमा ३००० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

साओमीले आफैँ बनाएको ५२८ किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्ने एसयूभीलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल १२ मिनेट लाग्नेछ ।


Back_to_top