काठमाडौं । चिनियाँ ब्राण्ड एकपछि अर्को थपिने क्रम निरन्तर जारी छ । यसै क्रममा चिनियाँ ब्राण्ड जिलीको इलेक्ट्रीक कम्पनी ‘जिकर’ र डोङफेङको इलेक्ट्रीक ब्राण्ड ‘नामी’ नेपाल आउने भएको हो ।
यी दुबै ब्राण्डले ‘राइट ह्याण्ड ड्राइभ’ कार उपलब्ध गराउने योजना अनुसार नेपालमा डिलर नियुक्त गर्न लागेका हुन् ।
‘नेपालमा डिलर नियुक्त गर्न दुबै ब्राण्डले यहाँका कर्पोरेट हाउसको भ्रमण गरेका छन् । सम्भवत अबको दुई हप्ता भित्रै त्यसको टुङ्गो लाग्ने छ’, एक गाडी आयातकर्ता ब्यवसायीले मेरोअटोलाई जानकारी दिए ।
अहिले चिनियाँ ब्राण्ड नेपाल ल्याउने दौड नै चलिरहेको छ । यहि दौडमा धेरै ब्यवसायीक घरानाले दुईदेखि ५ वटासम्म ब्राण्ड होल्ड गर्न थालिसकेका छन् । तीनै घरानाहरु नयाँ ब्राण्ड ल्याउन तिब्र प्रतिस्पर्धा गरिरहेका छन् ।

अटोमोवाइल ब्यवसायका जानकारहरुका अनुसार अहिले चिनियाँ उत्पादन ल्याउन गज्जबकै प्रतिस्पर्धा चलेको देखिन्छ । कुनै एउटा कम्पनीले वर्षको ५०० गाडी बेच्ने योजना दियो भने अर्कोले हजार र अर्कोले ३ हजार यूनिट बिक्री गर्ने कमिटमेन्ट गर्न थालेका छन् । त्यसले उत्पादक र आयातकर्ता दुबैलाई केही दिदैन ।

आधिकारीक डिलर नियुक्तीको तयारीमा रहेको जिकर र नामी ब्राण्डको लागि पनि ५/६ ब्यवसायीक घरानाले प्रतिस्पर्धा गरिरहेका छन् । कसले बाजी मार्छ, अबको केही दिनमा नै टुङ्गो लाग्ने छ ।
राम्रा र सस्ता ईभी आउने
नामी ब्राण्डसँग अहिले एउटा मात्रै ह्याचव्याक कार छ । फिचर लोडेड र उत्कृष्ट डिजाइनमा तयार भएको नामी–०१ मोडल निकै स्मार्ट डिजाइन भएको मोडल हो ।
जिकर भने प्रिमियम ब्राण्डकै रुपमा जिलीले ल्याएको हो । यसको धेरै प्रोडक्टहरु आउने क्रममा छन् । साथै, अहिले बजारमा रहेको उत्पादनहरु मूल्य र लग्जरीको मिश्रणको रुपमा पाउन सकिन्छ ।

