अगस्टमा धेरै बिक्री भएका १० मिडसाइज एसयूभी, क्रेटालाई जित्यो सेल्टोसले

भारतीय बजारमा एसयूभीको बिक्रीमा ७ प्रतिशतले वृद्धि भएको छ । अटोपण्डितका अनुसार अगस्ट महिनामा मिडसाइज एसयूभी सेग्मेन्टको बजार ७ प्रतिशतले वृद्धि भएको हो । 

जसमा सर्वाधिक बिक्री भएका १० एसयूभीको पहिलो नम्बरमा कियाको सेल्टोस परेको छ भने बजारमा आएदेखि नै पहिलो स्थानमा रहेको हुन्डाई क्रेटा दोस्रो स्थानमा झरेको छ ।

अगस्ट महिनामा कियाले सेल्टोस ६ हजार २३६ यूनिट बिक्री गर्दा हुन्डाईले आफ्नो चर्चित मिडसाइज एसयूभी क्रेटा ६ हजार १ यूनिट मात्र बिक्री गर्न सफल भएको छ । 

गतवर्षको अगस्टमा क्रेटाको बिक्री १० हजार ३९४ यूनिट थियो । अघिल्लो वर्षको तुलनामा यस वर्षको अगस्टमा कम्पनीले क्रेटाको बिक्री ४२ प्रतिशतले गुमाएको छ । 

तेस्रो स्थानमा महिन्द्राको स्कोर्पियो परेको छ । अगस्ट महिनामा स्कोर्पियोको बिक्री २ हजार ८६२ यूनिट भएको छ । जुन गतवर्षको सोही अवधिमा भएको ३ हजार ६०६ यूनिटको तुलनामा २१ प्रतिशतले कम हो । 

चौथो स्थानमा नयाँ मिडसाइज एसयूभी एमजी हेक्टर रहेको छ । कम्पनीले अगस्टमा २ हजार १८ यूनिट हेक्टर बिक्री गरेको छ ।

पाँचौ स्थानमा रहेको महिन्द्राको ‘एक्सयूभी ५००’ ले अघिल्लो अगस्तको तुलनामा यो अगस्टमा ५३ प्रतिशतले बजार गुमाएको छ । अछिल्लो वर्ष २ हजार ७८ यूनिट बिक्री भएको एक्सयूभी ५०० यस वर्षको अगस्टमा ९६८ यूनिट मात्र बिक्री भएको छ । 

यो वर्ष पुरानो एसयूभी तर नयाँ फेसलिफ्ट सार्वजनिक भएको कारण रेनो डस्टरले ५८ प्रतिशतले बजार बढाएको छ । अघिल्लो वर्षको अगस्टमा ६१३ यूनिट गाडी बेचेको कम्पनीले यो वर्षको अगस्टमा ९६७ यूनिट गाडी बेचेको हो । 

मारुती सुजुकी एसक्रस ६६६ यूनिट बिक्री हुँदा टाटा ह्यारीयर (नेपालमा एच५) को बिक्री ६३५ यूनिट रहेको छ । लिष्टको नवौँ नम्बरमा जीप कम्पास परेको छ । कम्पासको अगस्टको बिक्री ६०५ यूनिट रहेको छ भने तालिकाको दशौँ स्थानमा निसान किक्स रहेको छ । किक्सको अगस्टको बिक्री १७२ यूनिट देखिएको छ । 


Back_to_top