काठमाडाैं । चिनियाँ मोटरसाइकल कम्पनी हाउजे केही समय अगाडि नेपाल भित्रिएको छ । यसले नेपाली बजारमा विभिन्न तिन मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ । कम्पनीले डर्ट, क्रुजर, नेकेड जस्ता माडलका मोटरसाइकल बिक्री गरिरहेको छ ।
हाउजे मोटरसाइकलका लागि नेपालको आधिकारीक वितरक कृष्ण ट्रेडिङ कन्सर्नले डर्ट बाइक एनके १५० उपलब्ध गराएको हो ।
यस्तो छ एनके १५०
जापानीज कम्पनी सुजुकीसँगको सहकार्यमा निर्माण भएको मोटरसाइकल एनके १५० अफरोड भर्सनको मोटरसाइकल हो । एड्भेन्चर बिशेषता बोकेको यो मोटरसाइकमा १४९ सीसी एयर कूल्ड कार्वुरेटर इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा ११.८ बीएच पावर तथा ११.६एनएम टर्क ६००० आरपीएममा जेनेरेट गर्छ । यो इन्जिनमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
सुरक्षा फिचरलाई मध्यनजर गर्दै कम्पनीले यसमा सिगंल च्यानल एबीएस दिएको छ । अफरोड बिशेषता सुहाउँदो स्पोक ह्वील उपलब्ध रहेको छ । अफसाइड माउन्ट साइलेन्सर, डिजिटल कन्सोल, फ्रन्ट नोच, लगेज क्यारीर जस्ता फिचर यो मोटरसाइकलमा रहको छ । २४४ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यो बाइकमा १२.५ लिटरको फ्यूल ट्याङक दिएको छ ।
नेपाली बजारमा यो मोटरसाइकलले हिरो एक्सपल्स २००, रनर हक २०० जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्ने छ । हाउजे एनके १५० को मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
यस्तै कम्पनीले बिक्री गर्ने टिआर १५० को २ लाख ९५ हजार र केए १५० को मूल्य २ लाख ४८ हजार रुपैयाँ साथै भीएस १२५ स्कुटरको मूल्य भने २ लाख ३५ हजार रुपैयाँ तोकिएको छ ।

