काठमाडाैं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका हरेक स्कुटरको खरिदमा अभुतपूर्व ‘रिसेल प्रोमिस’ अर्थात् ‘पुनर्विक्रिय वाचा’ घोषणा गरेको छ ।
यो योजनाअनुसार यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्षभित्रमा यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पुरानो स्कुटरको मूल्यांकन खरिद मूल्यको ७५ प्रतिशत पक्का पाउने कम्नुपनीले जनाएकाे छ ।
यसका साथै, स्कुटर किनेको १२ महिनादेखि १८ महिनाको अवधिमा एक्सचेन्ज गर्न चाहने ग्राहकले पुरानो स्कुटरको मूल्यांकन पहिलेको खरिद मूल्यको ७० प्रतिशत पाउनेछ । त्यसैगरी, १८औं महिनादेखि २४ औं महिनामा यामाहाका दुईपांग्रेसँग एक्सचेन्ज गर्न चाहने स्कुटरधनीले ६५ प्रतिशत मूल्यांकन पाउनेछन् । यामाहाको ‘रिसेल प्रोमिस’ चैत १ गतेदेखि स्कुटर खरिद गर्ने सबै ग्राहकले पाउनेछन् भने यो योजनाको वैधता तीन वर्षसम्म हुनेछ ।
एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले भने, ‘अब यामाहाका स्कुटर स्टाइलिस र कम्फर्टेबल मात्र छैन, रिसेल प्रोमिस ग्यारेन्टी गरिएको पनि छ ।’
यामाहाले ६ वर्षअघिदेखि नेपालमा स्कुटर भित्र्याउन थालेको थियो । यो छोटो अवधिमा यामाहाका स्कुटर नेपाली ग्राहकमाझ लोकप्रिय बनिसकेको छ । डिजाइन र प्रविधिमा यामाहाको नविनतम प्रयोगले गर्दा विश्व बजारमा नै यामाहाको स्कुटर चर्चित छ ।
नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् ।


