काठमाडौं । हुन्डाईले आफ्नो चर्चित सब फोर मिटर एसयूभी भेन्यूको नयाँ मोडल ल्याउने तयारी गरेको छ । एक वर्ष अगाडि अन्तर्राष्ट्रिय बजारमा आएको हुन्डाईको नयाँ मोडललाई फेलिफ्ट गर्न लागिएको खबरहरु बाहिर आएका छन् ।
अहिले हुन्डाई भेन्यूले भारत, अमेरिका, यूरोप र नेपाल जस्ता देशमा सफलता पाइरहेका छन् । नयाँ फेसलिफ्ट भेन्यूको सार्वजनिक भएको तस्विर अनुसार अगाडि भागमा निकै ठूलो परिमार्जन देख्न सकिन्छ ।
यसमा रहेको अहिलेको ग्रिललाई परिवर्तन गर्दै नयाँ हुन्डाई सान्ताफेमा प्रयोग भएको रेडिएटर ग्रिल दिइएको छ । नयाँ भेन्यूमा नयाँ एलइडी हेडल्याम्प, एलइडी टि सेपमा डे टाइम रनिङ लाइट जस्ता परिवर्तनले गाडीलाई पहिलेभन्दा पनि निकै दमदार बनाएको छ ।
अहिले बाहिर आएको यो तस्विर अनुसारको भेन्यू तत्काल भारत वा नेपाली बजारमा भने आउने छैन । यसलाई कम्पनीले कोरियाको प्लान्टमा उत्पादन गरिरहेको छ भने यसको निर्यात अमेरिका र यूरोपियन बजारमा हुने छ ।
सन् २०१९ मा आएको भेन्यू पहिलो वर्ष कोरियामा ५६ हजार ५८ यूनिट उत्पादन भएको थियो भने भारतीय प्लान्टमा १ लाख २ हजार ४१८ यूनिट उत्पादन भएको थियो ।


