काठमाडौं । मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले चाडपर्व लक्षित अफर योजना ‘सुजुकी पर्वोत्सव’ सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको अफर योजना अनुसार भिटारा ब्रेजा किन्न चाहने ग्राहकले नगद २ लाख रुपैयाँ छुट प्राप्त गर्न सक्ने छन् । कम्पनीले ल्याएको स्कीम अनुसार ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट देखिनै मारुती सुजुकीका गाडी खरिद गर्न सक्ने छन् ।
कम्पनीले सार्वजनिक गरेको दशैं स्कीम अनुसार ब्रेजामा नगद छुटको अलावा एक वर्षको बीमा, एक आर्थिक वर्षको सडक कर, १२ हजार रुपैयाँ बराबरको एशोसरिज, पुरानो गाडीसँग ब्रेजा साट्नेलाई १ लाख ५० हजारसम्मको एक्सचेन्ज बोनस प्रदान गर्ने जनाएको छ ।
कम्पनीले ब्रेजा दुई भेरियन्ट र तीन अप्सनमा उपलब्ध गराएको छ । जसमा भीएक्सआई र जेडएक्सआई प्लस भेरियन्ट उपलब्ध रहेको छ ।
साथै, ड्यूलटोन कलर अप्सन खोज्नेले जेडएक्सआई प्लस भेरियन्ट खरिद गर्न सक्ने छन् ।

नयाँ पेट्रोल इन्जिन युक्त ब्रेजा भिएक्सआई भेरियन्टको मूल्य ४१ लाख ६९ हजार र जेडएक्सआई प्लस भेरियन्टको मूल्य ४४ लाख ६९ हजार रुपैयाँ निर्धारण गरिएको छ । साथै, ड्यूल टोन खरिद गर्ने ग्राहकले भने ३० हजार रुपैयाँ बढी तिर्नु पर्ने हुन्छ । ड्यूलटोन जेडएक्सआई प्लसको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ ।
नयाँ ब्रेजामा १.५ लिटर के१५बी एसएचभीएस फोर सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले १०५ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्नेछ । ५ स्पीड म्यानुयल र ४ स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्स दिइएको छ ।
कम्पनीले जनाए अनुसार यसमा हाइब्रिड टेक्नोलोजीको प्रयोग गरिएको छ । उक्त टेक्नोलोजीले इन्धन बचत, आइडियल स्टार्टरस्टप, टर्क एसिस्ट फङ्सन, ब्रेक इनर्जी रिजेनेरेशन जस्ता फिचर उपलब्ध रहेको छ ।


