काठमाडौं । मारुती सुजुकी सेलेरियोको नयाँ जेनेरेशन मोडल सन् २०२० मा सार्वजनिक नहुने भएको छ । इन्डो जापानी ब्राण्ड मारुती सुजुकीले सन् २०२० को दिपावलीलाई ध्यानमा राखेर बजारमा ल्याउने अनुमान गरिएको सेलेरियो सन् २०२१ को पहिलो क्वाटरमा सार्वजनिक हुने भएको हो ।
पहिलेको ह्याचव्याक डिजाइनलाई परिमार्जन गर्दै क्रसओभर ह्याचव्याक डिजाइनमा ल्याउन लागिएको सेलेरियो भारतमा बिक्री सुरु भएको केहि समयपछि नेपाल आउने छ ।
कम्पनीले पहिलो जेनेरेशन सेलेरियो सन् २०१४ मा बजारमा ल्याएको थियो । अव करिब ६ वर्षपछि कम्पनीले नयाँ जेनेरेशन मोडल ल्याउन लागेको हो । कोरोना भाइरसको संक्रमणपछि साना र सस्ता कारमा ग्राहकको आकर्षण धेरै रहेकाले कम्पनीले सेलेरियोबाट धेरै आश गरेको रिपोर्टहरुमा उल्लेख गरिएको छ ।
अहिले भारतका विभिन्न क्षेत्रमा यसको परिक्षण भइरहेको तस्विरहरु बाहिर आएका छन् । बाहिर आएको तस्विर अनुसार कम्पनीले यसलाई क्रसओभर डिजाइन दिएको देखिन्छ ।
यसलाई कम्पनीले आफ्नो माइक्रो एसयूभी एसप्रेसो र वागेनआरको प्ल्याटफर्ममा बनाइरहेको बुझिएको छ । प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएलएस, अलोय ह्वील, एलइडी टेल ल्याम्प, रियर वाइपर, चंकीएर बम्पर, उच्च ग्राउन्ड क्लियरेन्स जस्ता फिचरको साथ बजारमा उतार्ने छ ।
कारको इन्टेरियर पनि अहिलेको भन्दा निकै आकर्षक हुने अनुमान गरिएको छ । ड्यासबोर्ड माउन्ट इन्फोटेन्टमेन्ट सिस्टम, फेब्रिक सिट, कप होल्डर, अटोमेटिक एसी, इटेरिङ माउन्ट कन्ट्रोल जस्ता विशेषता रहने छन् ।
सुरक्षाको हिसावले एयरव्याग, पार्किङ क्यामेरा, स्पीड सेन्सर, रिटबेल्ट रिमाइन्डर, एबीएस, इबीडी जस्ता फिचर यसमा रहने छन् ।
१.० लिटर क्षमताको इन्जिनमा आउने नयाँ जेनेरेशन सेलेरियो पेट्रोल इन्जिनमा मात्रै उपलब्ध रहने छ । उक्त इन्जिनले ६७ बीएच पावर र ९० एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स रहने छ ।

