काठमाडौं । सन् २०२० को सुरुवातसँग विश्वभर कोरोना असर देखियो । विश्वका धेरै देश करिब ३ महिनासम्म लकडाउन भए । नेपाल पनि करिब ४ महिना लकडाउनमा बस्यो । यसका बाबजुद नेपाली अटोमोवाइल बजारमा ३ नयाँ विश्व चर्चित ब्राण्डको विक्री सुरु भयो ।
विश्वमै सर्वाधिक चर्चामा रहने बिएमडब्ल्यू कार नेपाली बजारमा प्रबेश गर्यो भने मोटरसाइकलमा हस्कभर्ना र जावाले विक्री सुरु गरे ।

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी प्रिमियमले बिएमडब्ल्यूका उत्पादन नेपाल ल्याएर विक्री वितरण सुरु गरेको छ । महिन्द्राको गाडी विक्री गर्दै आएको अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटो इन्कले जावा र केटीएम र बजाजका मोटरसाइकल विक्री गर्दै आएको हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले हस्कभर्नाका मोटरसाइकल नेपाल ल्याएको हो ।

यी तीन वटै ब्राण्ड प्रिमियम उत्पादनको कारण विश्वमा चर्चामा रहदै आएका छन् । हस्कभर्नाका मोटरसाइकल सुरुमा ल्याएको सबै यूनिट सोल्ड आउट भएर नयाँ रेकर्ड कायम गर्न सफल भएको छ भने जावाले पनि निकै राम्रो विक्री गर्दै आएको कम्पनी स्रोतले जानकारी दिएको छ ।

विएमडब्ल्यु ब्राण्डका कारको विक्री पनि निकै उत्साहजनक रहेको लक्ष्मी प्रिमियम स्रोतले जनाएको छ । कम्पनीले विक्री गर्ने एक्स थ्री मोडल सोल्ड आउट भएको छ भने बिएमडब्ल्यू ७ सिरीजका दुबै कार विक्री भएको छ । कम्पनीले विक्री गर्ने अन्य मोडलको विक्री पनि उत्साहजनक रहेको कम्पनी स्रोतले जानकारी दिएको छ ।
मूल्यका हिसावले महंगा उत्पादन रहेका यी तीन वटै ब्राण्ड यूरोपियन हुन् ।


