काठमाडौं । नेपाल सरकारले इलेक्ट्रीक भेहिकल (इभी) आयातमा बढाएको भन्सार र अन्तःशुल्कको कारण उपभोक्ताले स्विकार गर्दै गएको इकोसिस्टम बिगारेको भएपनि अन्तर्राष्ट्रिय बजारमा यसको सकारात्मक परिणामहरु आइरहेका छन् ।
अर्थमन्त्रीबाट डा. युवराज खतिवडाको बहिर्गमनपछि अन्तःशुल्कमा कहि घटाइएको भएपनि यसले मात्रै तत्काल नेपालमा इलेक्ट्रीक कारको मोह ग्राहकमा पैदा हुने अवस्था रहेको छैन ।
सरकारले सुरुका दिनहरुमा दिदै आएको वार्षिक सडक दस्तुरपनि लाग्न सुरु भएकाले नेपालको आफ्नै उत्पादन बिद्युत खपत गर्ने सवारी साधनहरु प्रयोग गर्न ग्राहकहरु हिच्किचाइ रहेको अवस्था विद्यमान छ ।
नेपाली इभीको इकोसिस्टम जतिनै बिग्रिय पनि अन्तर्राष्ट्रिय बजारमा इभीको मुख्य कम्पोनेन्टको रुपमा लिइने व्याट्रीको मूल्यमा भइरहेको व्यापक गिरावटले नेपाली बजारमा फेरि एकपटक इभीको माग बढ्ने आधारहरु तयार हुँदै गएका छन् । विश्व बजारमा अत्याधिक रुपमा प्रयोग हुँदै आएको इभीको व्याट्री (लिथियम आयोन फास्फेट) को मूल्य करिब १०० डलर प्रति किलोवाट आवरमा झरेको छ ।

नयाँ विकास भएको टेक्नलोजीको लागत त्यसमा पनि मुख्यतया व्याट्रीको लागतका कारण ग्यासोलीन कारको मूल्यभन्दा धेरै रहँदै आएको थियो । जसको कारण पेट्रोलियम पदार्थबाट चल्ने कारभन्दा इभीको मूल्य धेरै हुने गरेको थियो । पेट्रोलियम पदार्थबाट चल्ने कारको तुलनामा इभीको संचालन खर्च ज्यादै कम भएता पनि यसमा गर्नु पर्ने सुरुवाती लगानीको कारण ग्राहकहरु इभीमा आकर्षित भइरहेका थिएनन् ।
तर, अब व्याट्रीको लागतमा व्यापक कटौती भएको कारण इभीको प्रारम्भिक मूल्य तथा व्याट्रीको लाइफ सकिएपछि गर्नै पर्ने व्याट्री परिवर्तनको लागत पनि कम पर्न आउने भएकोले इभीको आकर्षण बढ्ने पक्का भएको हो ।
हालै मात्र व्याट्री मूल्यलाई ट्रयाक गरिरहेको बुल्मवर्गले दिएको रिपोर्ट अनुसार चाइनामा इभी बसहरुले १०० डलर प्रति किलोवाट आवरभन्दा कम मूल्यमा व्याट्री पाएको समाचार सार्वजनिक गरेको छ । यसको मूल्य सन् २०१० मा प्रतिकिलोवाट आवर ११ सय डलर रहेको थियो ।
अहिले पनि इभी कारहरुले १३७ डलर प्रतिकिलोवाट आवरमा व्याट्री प्याक खरिद गरिरहेका छन् । सन् २०२३ सम्ममा यसको मूल्य कार तथा साना स्कुटरहरुको व्याट्री प्याकको मूल्य पनि १०० डलरभन्दा कम हुने आँकलन गरिएको छ ।


