काठमाडौं । विश्वमा उड्ने कार निर्माण अहिले सर्वाधिक चर्चाको विषय बन्दै आएको छ । विभिन्न कम्पनीहरुले उड्ने कारको परिक्षण समेत गरिरहेका छन् । यस्तोमा कोरियन कार निर्माता कम्पनी हुन्डाई र वेलायती स्टार्टअप कम्पनी अर्वान एयरपोर्ट बीच उक्त उड्ने कार र ट्याक्सीको लागि एयरपोर्ट निर्माण गर्ने सम्झौँता भएको हो ।
सन् २०२१ नोभेम्बरमा नै यो एयरपोर्ट कस्तो हुने छ भन्ने जानकारी सर्वसाधारणले पाउने छन् । त्यति मात्रै होइन ड्रोनको सहायताले कसरी कार उड्छ र रोकेपछि कसरी मानिस ओर्लन्छन् भन्ने विषय आफ्नै आँखाले नियाल्न सक्ने बताइएको छ ।
वेलायतको काउन्ट्री सिटी सेन्टरमा निर्माण गरिने उक्त ट्याक्सी एयरपोर्ट निर्माणको लागि वेलायत सरकारले १२ लाख पाउन्ड सहायता दिने घोषणा समेत गरेको छ ।
अर्वन एयरपोर्टका संस्थापक रिकी सन्धुले सम्झौँतापछि भनेका छन्, ‘वेलायत सरकार र हुन्डाई मोटर्स ग्रुपको सहयोगमा हामी विश्वसामु उड्ने कारको लागि एयरपोर्ट निर्माण गरेर देखाउने छौं ।’
साथै, सन्धुले भने उड्ने कार निर्माणमा धेरै कम्पनीहरुले सफलता पाएका छन् । यस्तो एयरपोर्टले नयाँ मोविलिटीको विकासमा महत्वपूर्ण योगदान प्रदान गर्ने छ ।

