काठमाडौं । २५० सीसी सेग्मेन्टका मोटरसाइकलको माग बढ्दै जान थालेपछि बजाज र सुजुकीले २५० सीसीमा नयाँ मोटरसाइकल ल्याउने तयारी गरेका छन् ।
अहिले बजारमा बजाज डोमिनार २५० र सुजुकी जिक्सर २५० यो सेग्मेन्टमा विक्री हुँदै आएका छन् । बजाज डोमिनार क्रुजर डिजाइनको मोटरसाइकल हो भने सुजुकी जिक्सर नेकेड स्पोर्टस् मोटरसाइकल हो । यस्तोमा बजाजले अब नेकेड स्पोर्टस् र सुजुकीले क्रुजर मोडल २५० सीसी क्षमताको इन्जिनमा ल्याउने तयारी गरेका हुन् ।
बजाजले आफ्नो चर्चित पल्सर सिरिजको सबैभन्दा पावरफुल मोटरसाइकलको रुपमा नयाँ मोटरसाइकल ल्याउने छ । बजाज पल्सर नेपालमा सर्वाधिक विक्री हुने मोटरसाइकल हो । अहिले २२० सीसी क्षमतासम्मका पल्सर मोटरसाइकल विक्री हुँदै आएको छ । यस्तोमा २५० सीसी सेग्मेन्टमा पल्सरको प्रवेश निकै हेर्न लायक हुने छ ।
सुजुकी मोटरसाइकल उत्कृष्ट भएर पनि नेपालमा खासै जम्न नसकेको ब्राण्ड हो । यद्यपी सुजुकीले १५० र २५० सीसी सेग्मेन्टमा राम्रा मोटरसाइकल उपलब्ध गराउँदै आएको छ भने स्कुटर सेग्मेन्टमा पनि सुजुकी बलियो रहेको छ । यस्तोमा कम्पनीले २५० सीसी क्षमताको नयाँ सुजुकी इन्टुडर बजारमा उतार्ने तयारी गरिरहेको छ ।
यी दुबै कम्पनीले आफ्नो नयाँ मोटरसाइकल आगामी चाडपर्वको अवशर पारेर भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । यदि आगामी चाडपर्वमा भारतमा सार्वजनिक भएको खण्डमा नयाँ वर्ष २०२२ को सुरुवातमा यी मोटरसाइकल नेपाल आइसक्ने छन् ।


