काठमाडौं । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको एक महिना पुरा हुनै लागेको छ । अझै केही हप्ता निषेधाज्ञा जारी रहने विभिन्न सरकारी निकायले जनाई सकेका छन् ।
बढ्दो संक्रमणको कारण लगाइएको निषेधाज्ञाले सम्पूर्ण आर्थिक गतिविधि ठप्प रहेको छ । यस्तोमा सवारी साधन विक्रेता कम्पनीहरु पनि निकै प्रभावित भएका छन् । अघिल्लो वर्ष भएको लामो लकडाउन पछि खुलेको बजारमा दुई पाङ्ग्रे सवारी साधनको विक्री निकै राम्रो रहेको थियो । भने, ग्राहकले आफुले किन्न चाहेको मोडल तत्काल पाउने अवस्था समेत थिएन ।
यस पटकपनि लामो समय लकडाउन हुने भएपछि मोटरसाइकलको व्यापार कस्तो होला ? बजारमा ग्राहकले आफुले किन्न चाहेको मोडल तत्काल किन्न पाउलान् ? जस्ता प्रश्नहरु धेरै ग्राहकको मनमा उब्जेको हुन सक्छ ।
व्यवसायीहरुका अनुसार यस पटक निषेधाज्ञापछि बजारमा नयाँ मोटरसाइकल किन्न चाहने ग्राहकले सजिलै किन्न पाउने अवस्था रहेको छ ।
‘हामीले यसअघि अर्डर गरेका सबै साधनहरु आएका छन् । निषेधाज्ञा सकिएपछि ग्राहकले आफ्नो छनोट अनुसारको मोटरसाइकल किन्न सक्छन्’, एमएडब्लु इन्टरप्राइजेजका एमडी विष्णुकुमार अग्रवालले भने ।
यस्तो जटिल समयमा व्यवसाय कसरी अगाडि जान्छ भन्न नसकिने भन्दै अग्रवाल भन्छन्, ‘कोभिडको कारण अर्थतन्त्रमा नकारात्मक असर परेको समयमा ग्राहकको आम्दानी पनि घटेको हुन्छ । त्यसले कति मानिसले नयाँ सवारी साधन किन्ने क्षमता राख्छन्, अहिल्यै कुनै आँकलन गर्न सकिदैन ।’
अग्रवालको कम्पनी एमएडब्लु इन्टरप्राइजेज् यामाहाको आधिकारीक वितरक हो । कम्पनीले निषेधाज्ञाको समयमा राम्रै संख्यामा मोटरसाइकल आयात गरेको उनले जानकारी दिए ।
नेपालमा नै सर्वाधिक मोटरसाइकल विक्री गर्ने बजाजसँग पनि प्रयाप्त मोटरसाइकल रहेको छ । बजाजले नेपालमा नै मोटरसाइकल एसेम्बल गर्ने भएकाले बजार माग अनुसार दिन सकिने अवस्था रहेको हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले जानकारी दिए ।
‘अहिले सबैभन्दा ठूलो चुनौती भनेको मूल्यको हो । यहाँ लकडाउन भएको एक महिनाको अवधिमा नै भारतमा बजाजका मोटरसाइकलको दुई पटक मूल्य बढी सकेको छ । अन्य कम्पनीको पनि ५ देखि १० प्रतिशत मूल्य बढेको सुनेको छु । यसले ग्राहकलाई निकै कठिन हुन्छ कि जस्तो लाग्छ’, गोल्छाले भने ।
अहिले बजारमा चल्तीका बजाज, टीभीएस, यामाहा, होन्डा, हिरो जस्ता कम्पनीले स्टक मेन्टेन गरेका छन् । भने अन्य कम्पनीले पनि मोटरसाइकल आयात भइरहेको जनाएका छन् ।
‘बजार माग अनुसार अहिले पनि भारतबाट सप्लाई आइरहेको छ । बजार खुलेसँगै मोटरसाइकल किन्न चाहने ग्राहकलाई डेलिभरी दिन सकिने अवस्था रहेको छ’, भिजी सुजुकीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने ।
अघिल्लो वर्ष लकडाउन पछि समस्यामा रहेको होन्डा पनि यस पटक सजग भएको कम्पनीको दावी छ । कम्पनीले अहिले मोटरसाइकल तथा स्कुटरको स्टक राम्रै संख्यामा गर्न सफल भएको जनाएको छ ।
‘कुनैपनि ग्राहक मोटरसाइकल नपाएर फर्कनु पर्ने अवस्था छैन, अनलाइनबाट बुकिङ गर्नेदेखि निषेधाज्ञा सकिएपछि शोरुम आएर किन्न चाहने ग्राहकले सजिलै मोटरसाइकल पाउने अवस्था छ’, स्याकार ट्रेडिङका चेयरम्यान सौरभ ज्योतिले मेरोअटोसँग भने ।
होन्डाले आफ्ना उत्पादनको स्टक वृद्धिसँगै दुई वटा नयाँ मोटरसाइकल पनि बजारमा ल्याउने भएको छ । कम्पनीले सिबी हर्नेट २.० र हाइनेश सिबी ३५० लकडाउनपछि नेपाल भएको हो ।
नेपालमा सर्वाधिक छिटो व्यवसाय वृद्धि गरिरहेको टीभीएसले पनि राम्रो संख्यामा मोटरसाइकल स्टक गरेको बताउँदै जगदम्बा मोटर्सका भाइस प्रसिडेन्ट दिपककुमार अग्रवाल भन्छन्, ‘टीभीएसले नेपालमा नै एसेम्बल सुरु गरेको हुँदा मोटरसाइकल स्टकमा नहुने भन्ने कुरै भएन । बजार माग अनुसार सप्लाई गर्न कम्पनी तयारी अवस्थामा रहेको छ ।’
सबै कम्पनीका उत्पादन अनलाइन मार्फत बुकिङ गर्न सकिने
अहिले बजाज, होन्डा, यामाहा, टीभीएस, हिरो जस्ता ब्राण्डका मोटरसाइकल ग्राहकले घरमै बसेर बुकिङ गर्न सक्ने छन् । यी सबै ब्राण्डका आधिकारीक विक्रेता कम्पनीको आधिकारीक वेभसाइटबाट ग्राहकले मोटरसाइकल तथा स्कुटर बुकिङ गर्न सक्ने छन् ।
अधिकांश कम्पनीले यो महामारीको समयमा फ्रन्टलाइनरको रुपमा काम गर्नेहरुको लागि डेलिभरीको समेत व्यवस्था मिलाएको जनाएका छन् ।
सरल फाइनान्स स्कीम आउन सक्ने
सबै कम्पनीका जिम्मेवार व्यक्तिसँगको कुराकानीलाई आधारमान्दा नागरिकको आम्दानीको स्रोतमा संकुचन आएकाले उनिहरुले सहज तरिकाले मोटरसाइकल खरिद गर्न सक्ने अवस्था निर्माण गर्नु पर्ने देखिन्छ । यसको सबैभन्दा सहज उपाए भनेको फाइनान्स स्कीम नै हो । संभवत कम्पनीहरुले व्यजदरमा आकर्षक स्कीम ल्याउने छन् ।
यसअघि कम्पनीहरुले २ वा ३ वर्षको किस्तामा मोटरसाइकल किन्ने ग्राहकसँग १६ देखि १८ प्रतिशतसम्म व्याजदर लगाएका थिए भने ५० प्रतिश डाउन पेमेन्ट गर्ने र १८ किस्तामा रकम भुक्तानी गर्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा मोटरसाइकल दिदै आएका थिए ।
अब कम डाउन पेमेन्ट र १२ देखि १४ प्रतिशतसम्मको व्याजदरमा फाइनान्स स्कीम आउने अनुमान गर्न सकिन्छ ।

