कोना र इजेडएसमा यस्ता छन् फरक, कति तिर्नु पर्छ मासिक किस्ता

काठमाडौं । नेपाली बजारमा सर्वाधिक सफल दुई इलेक्ट्रीक कारको नाम लिँदा हुन्डाई कोना र एमजी इजेडएस सबैभन्दा पहिला आउने नाम हो ।

कोना इलेक्ट्रीकले बजारमा छुट्टै किसिमको रौनक सृजना गरेसँगै आएको किया निरो र एमजी इजेडएसले पनि सफलता चुमेका थिए ।

हामीले यहाँ एमजी इजेडएस र हुन्डाई कोनाको विषयमा तुलनात्मक फरक खोज्ने प्रयास गरेका छौं ।

एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले केही दिनअघि प्रकाशन गरेको नयाँ मूल्यसूची अनुसार इजेडएसको मूल्य ५० लाख ९९ हजार र हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोनाको मूल्य ५६ लाख ९६ हजार तोकेर विक्री सुरु गरेको छ ।

एमजी इजेडएस कोनाभन्दा ५ लाख ९७ हजार रुपैयाँ सस्तो रहेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि यी दुई गाडीको मूल्य ४ देखि ५ हजार डलर फरक रहेको पाउन सकिन्छ । यस्तोमा यी दुई बीचको मूल्यको प्रतिस्पर्धा निकै रोचक देख्न सकिन्छ ।

व्याट्री र मोटर

एमजी इजेडएसमा ४४.५ किलोवाट आवरको लिथियम आयोन व्याट्री उपलब्ध छ भने कोनामा ३९.२ किलोवाट आवरको व्याट्री पाउन सकिन्छ ।

हुन्डाई कोनामा १०० किलोवाट क्षमताको मोटर जडान भएको छ । उक्त मोटरले ३९५ एनएम टर्क प्रदान गर्छ । इजेडएसमा भने ११२ किलोवाट क्षमताको मोटर जडान भएको छ । यसको अधिकतम टर्क ३५३ एनएम रहेको छ ।

दुबै इलेक्ट्रीक एसयूभी फ्रन्ट ह्वील ड्राइभ सिस्टमका हुन् । एमजीको इजेडएसले ८.५ सेकेन्डमा ० देखि १०० किलोमिटरको रफ्तार पकड्न सक्ने कम्पनीले दाबी गरेको छ भने हुन्डाई कोनाले ९.७ सेकेन्डको समयमा लगाउने छ ।

गाडीको साइज र डिजाइन

एमजी जेडएसको लम्बाई ४३१४ एमएम रहेको छ भने हुन्डाई कोनाको लम्बाई ४१८० एमएम रहेको छ । जेडएसको चौडाई १८०९ एमएम र उचाई १६२० एमएम रहेको छ । कोनाको चौडाई भने १८०० एमएम र उचाई १५७० एमएम रहेको छ । यी एसयूभीमा उचाई र लम्बाईमा जेडएस ठूलो छ भने चौडाई लगभग उस्तै रहेको छ ।

ह्वीलवेसमा हुन्डाई कोना केही लामो छ । कोनाको ह्वील वेसको लम्बाई २६०० एमएम रहेको छ भने जेडएसको ह्वील वेस २५७९ एमएम रहेको छ ।

डिजाइनमा हुन्डाई कोना अलग देखिन्छ कम्वस्चन इन्जिनको कोनाभन्दा इलेक्ट्री डिजाइन पृथक रहेकोले कोना संसारभर चर्चामा रहेको गाडी हो । एमजीले आफ्नो जेडएस एसयूभीलाई नै इलेक्ट्रीक बनाएको हो । यसमा इलेक्ट्रीक भएकै कारण धेरै फरकपन पाउन सकिदैन ।

चार्जिङ समय र रेञ्ज

इजेडएसलाई ७ किलोवाटको एसी चार्जरबाट ६ देखि ८ घन्टामा फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यसलाई डिसी फास्ट चार्जरबाट चार्जगर्दा भने ५० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने छ । एक पटककमे फुल चार्जमा ३२८ किलोमिटर रेञ्ज प्रदान गर्ने दावी कम्पनीले गरेको छ ।

हुन्डाई कोनालाई पनि ७ किलोवाटको चार्जरबाट घरायसी विजुलीमा चार्जगर्दा ६ घन्टा १० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । डिसी फास्ट चार्जर मार्फत ५७ मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीको दावी रहेको छ । हुन्डाई कोनाले एकपटकको फुल चार्जमा ३२० किलोमिटर रेञ्ज प्रदान गर्छ ।

अन्य फिचर

हुन्डाई कोना र एमजी जेडएस दुबैमा एबीएस, सेन्ट्रल लक, पावर डोर लक, चाइल्ड सेफ्टी लक, एन्टी थेप्ट आर्लम, ६ वटा एयरव्याग, डे÷नाइट रियरभ्यू मिरर, प्यासेन्जर साइड रियर भ्यू मिरर, सिटवेल्ट वार्निङ, डोर जार वार्निङ, साइड इम्प्याक्ट बीम जस्ता फिचर पाउन सकिन्छ ।

त्यसैगरि, फ्रन्ट इम्प्याक्ट बीम, टायर प्रेसर मोनिटर, इन्जिन इमोबिलाइजर, क्र्यास सेन्सर, इन्जिन चेक वार्निङ, इबीडी, इलेक्ट्रोनिक स्टाविलिटी कन्ट्रोल, हाई स्पीड अलर्ट, हिल एसिस्ट, इम्प्याक्ट सेन्सिङ अटो डोर अनलक जस्ता फिचर उपलब्ध रहेको छ ।

मासिक किस्ता कति ?

विद्युतीय गाडी किन्ने ग्राहकले ८० प्रतिशतसम्म कर्जा सुविधा पाउने छन् । यदि ८० प्रतिशत रकम कर्जा दिएर विद्युतीय गाडी किन्ने हो भने ग्राहकले धेरै रकम व्याज वापत भुक्तानी गर्नु पर्छ । त्यसैले सकभर विद्युतीय कार किन्दा ३० प्रतिशत डाउन पेमेन्ट बुझाउनु राम्रो मानिन्छ ।

एमजी इजेडएसको मूल्य ५० लाख ९९ हजार रुपैयाँ रहेको छ । यसलाई ३० प्रतिशत डाउन पेमेन्ट तिरेर किन्ने ग्राहकले १५ लाख २९ हजार ७०० रुपैयाँ सुरुमै तिर्नु पर्ने हुन्छ भने २५ लाख ६९ हजार ३०० रुपैयाँ कर्जा सुविधा लिन सक्ने छन् ।

अहिले बजारमा ७.५ प्रतिशत व्याजदरमा सवारी कर्जा पाउन सकिन्छ । यसरी लिएको कर्जा ८ वर्षमा भुक्तानी गरिसक्नेगरि इजेडएस किन्नेले मासिक ४९ हजार ५५५ रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।

हुन्डाई कोनाको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसको ३० प्रतिशतले हुन आउने १७ लाख ८ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट वापत जम्मा गर्नु पर्ने हुन्छ । बाँकी रकम ३९ लाख ८७ हजार २०० रुपैयाँ कर्जा वापत लिँदा ८ वर्षसम्म मासिक ५५ हजार ३५७ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।


Back_to_top