यामाहाले १० दिनपछि नयाँ मोटरसाइकल सार्वजनिक गर्ने

काठमाडौं । यामाहाको नयाँ मोटरसाइकल एफजेड एक्स आगामी जुन १८ तारिखमा सार्वजनिक हुने भएको छ । कम्पनीले १० दिनपछि बजारमा ल्याउन लागेको नयाँ मोटरसाइकल एफजेड एक्स अहिले विक्री हुँदै आएको एफजेडएस भि ३ मा आधारित रेट्रो डिजाइन मोटरसाइकल हो ।

यामाहा इन्डियाले एक विज्ञप्ती जारी गर्दै नयाँ मोटरसाइकल सार्वजनिक हुने मितिको जानकारी दिएको हो । केही समय अगाडि भारतका विभिन्न क्षेत्रमा यसको टेलिभिजन विज्ञापन सुटिङको क्रममा देखिएको थियो ।

सुटिङको क्रममा देखिएको रेट्रो स्टाइल एफजेड एक्समा थुप्रै मोर्डन फिचर रहेको अनुमान गर्न सकिन्छ । सार्प फिनिसिङ, गोलो एलइडी हेडल्याम्प, टियरड्रप सेपमा देखिएको इन्धन ट्याङ्क, सिंगल पीस सिट, वल्ड–स्कुल ट्यूवलर पिलियन ग्रावरेल, सिंगल पिस ह्याण्डलवार, अल्ली अगाडि दिइएको फुटपेग जस्ता फिचर चालकको लागि निकै आकर्षक र आरामदायी रहने छन् ।

यसको लम्बाई २०२० एमएम, चौडाई ७८५ एमएम, उचाई १११५ एमएम रहेको छ भने १३३० एमएमको ह्वीलवेस दिइएको छ ।

यसमा एफजेडएस भि थ्रीकै समान १४९ सीसी क्षमताको एफआई इन्जिन यसमा रहने छ । उक्त इन्जिनले अधिकतम ७२५० आरपीएममा १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्नेछ । यसमा ५ स्पीडको गियरबक्स रहने छ ।

यसका अलावा एफजेड एक्सको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन, अलोय ह्वील, दुबै चक्कामा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top