यस्तो छ नेक्सन इभी नेपाल ल्याउने तयारी

काठमाडौं । सरकारले विद्युतीय कारमा लाग्ने अन्तःशुल्क हटाएर भन्सार शुल्क घटाएसँगै नयाँ विद्युतीय गाडी नेपाल आउने क्रमले तिव्रता पाएको छ । टाटाको बहुप्रतिक्षित नेक्सन इभी पनि चाँडै नेपाल आउने भएको हो ।

टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नेक्सन इभीलाई जति सक्दो चाँडो नेपाल ल्याउने तयारी गरिरहेको जनाएको छ ।

‘हामी नेक्सन इभीलाई चाँडै ल्याउन आफ्नो तर्फबाट काम गरिरहेका छौं । अहिले निषेधाज्ञाको कारण धेरै काम समयमा गर्न पाएका छैनौ । तर, निषेधाज्ञा सकिएको केही दिनमा नै नेक्सनको विषय टुङ्गोमा पुग्छ’, कम्पनी स्रोतले भन्यो ।

सिप्रदी ट्रेडिङले नेक्सन इभी साउनदेखि नेपालमा विक्री गर्नेगरि तयारी गरिरहेको जनाएको छ । कम्पनी स्रोत भन्छ, ‘अहिले आन्तरिक तयारी हुँदैछ । चाँडै बुकिङ खोल्नेगरि काम गरिरहेका छौं ।’

कम्पनीले निकै आक्रमक मूल्यसहित नेक्सन नेपाली बजारमा उपलब्ध हुने जनाएको छ । तर, यसको मूल्य कति कायम हुन्छ भन्ने विषय जानकारी दिएकाे छैन । नेक्सनकाे मूल्यकाे विषयमा बजारमा विभिन्न अड्कल वाजी भइरहेकाे छ ।

यस्तो छ नेक्सन इभी

नेक्सन इभीमा टाटाले उत्कृष्ट फिचर प्रदान गरेको छ । यसमा सनरुफ, कनेक्ट कार फिचर, ७ इन्चको टीएफटी डिस्प्ले, प्रोजेक्टर हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर, हर्मनको ८ वटा स्पीकर, ७ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, स्मार्टफोन कनेक्टीभीटी, मल्टी ड्राइभ मोड लगायतका फिचर पाउन सकिन्छ ।

टाटाले तयार गरेको जिपट्रोन टेक्नोलोजीमा आधारित यो एसयूभीले फुलचार्जमा ३१३ किलोमिटर रेञ्ज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ । यसमा ३०.२ किलोवाट आवरको हाई इनर्जी डेनसिटी लिथियम आयोन ब्याट्री सेल दिइएको छ । यसको मोटरमा लिक्वीड कुल्ड सिस्टम प्रदान गरिएको छ ।

नेक्सनमा ९५ किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । उक्त मोटरले २४५ एनएम टर्क प्रदान गर्छ । यस कारले सून्यदेखि १०० किलोमिटरको रफ्तार ९.९ सेकेन्डमा भेट्टाउन सक्नेछ । सून्यदेखि ६० किलोमिटरको स्पीड भने ४.६ सेकेन्डमा भेट्टाउने कम्पनीले जनाएको छ । नेक्सन नेपाल आएसँगै इलेक्ट्रीक गाडी मध्ये सबैभन्दा धेरै ग्राउन्ड क्लियरेन्स भएको कार बन्ने छ ।


Back_to_top