स्कोडा कुशकको पहिलो उत्पादन ‘रोलआउट’, साउनबाट नेपालमा विक्री सुरु हुने

काठमाडौं । स्कोडाले भारतमा उत्पादन गरेको पहिलो मिडसाइज एसयूभी कुशक स्कोडाको पूणे स्थित प्लान्टबाट पहिलो यूनिट तयार भएको छ । यहि जुन महिनाको अन्त्यसम्मका कुशकलाई कम्पनीले भारतीय बजारमा उतार्ने छ भने साउनबाट नेपाल आउने जनाइएको छ ।

स्कोडाको ‘एमक्यूबी एओ आईएन प्लाटफर्म’मा बनेको कुशकले भारतमा हुन्डाई क्रेटा, किया सेल्टोस, निसानको किक्स जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ । पहिलो कार रोल आउट गरेको अवशरमा स्कोडा अटो फक्सवागन इन्डियाका म्यानेजिङ डाइरेक्टर गुरप्रताप बोपाराईले भने ‘पहिलो कार रोलआउटसँगै इन्डिया प्रोजेक्ट २.० अन्तर्गत कम्पनीले ठूलो सफलता प्राप्त गरेको छ । भारतीय र ग्लोवल टिमको संयुक्त प्रयासले यो सम्भव भएको हो । हामीले ९५ प्रतिशत सामान लोकल उत्पादन सहित कार निर्माण गर्दा भारतीय इन्जिनियरहरुको दक्षतालाई विश्व मानचित्रमा राख्न सफल भएका छौं ।’

कुशकसँगै स्कोडाले सर्वाधिक छिटो वृद्धि भइरहेको बजारमा प्रबेश गरेको छ । ग्राहकले कुशकमा उत्कृष्ट पफर्मेन्स, उच्च गुणस्तर, विशेष सुरक्षीत गाडी प्रयोग गर्न पाउने बोपाराईले दावी गरे ।

अग्रेसीभ लुक्समा उत्पादन भएको कुशकमा आधुनिक डिजाइन र प्रविधिहरु प्रयोग भएको छ । १७ इन्चको ड्यूलटोन अलोय ह्वील, रुफरेल तथा स्पोइलरको प्रयोगले कुशक निकै स्पोर्टी देखिएको छ ।

क्यावीनमा १० इन्चको टचस्किृन इन्फोटेन्मेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेन्टीलेटेड फ्रन्टसीट, वायरलेस चार्जीङका साथै एम्बीयन्ट लाइटिङ रहेको छ । यो एसयूभीमा २६५१ एमएमको ह्वीलबेस तथा ३८५ लिटरको बुट स्पेश पाउन सकिन्छ ।

स्कोडा कुशकमा तीन सिलिण्डर १.० लिटर र चार सिलिण्डर १.५ लिटर क्षमताको टिएसआई पेट्रोल इन्जिन उपलब्ध रहेको छ । यसमा ६ स्पीड म्यानुयल, ६ स्पीड अटोमेटिक टर्क कन्र्भटर तथा ७ स्पीड डिएसजी अटोमेटीक गियरबक्स उपलब्ध रहने छ ।

नेपाली बजारमा स्कोडा कुशक एमएडब्लु स्कोडाले विक्री वितरण गर्नेछ । साउनबाट विक्री सुरु हुने कुशकको मूल्यको बारेमा कम्पनीले आधिकारीक जानकारी नदिएता पनि यसको सुरुवाती मूल्य ५० लाख हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top