नेपाली इतिहासमा सर्वाधिक चर्चित ४ मोटरसाइकल, मूल्य थियो ८३ हजार

काठमाडौं । नेपालमा मोटरसाइकलको लामो इतिहास छैन । संख्यात्मक रुपमा मोटरसाइकलको विक्री बढ्न थालेको देशमा प्रजातन्त्र आएपछि हो । २०४६ सालसम्म नगन्य संख्यामा विक्री हुने मोटरसाइकल बजार प्रजातन्त्र स्थापनासँगै राम्रो संख्यामा विक्री हुन थालेको हो ।

अहिले नेपालमा करिब २ दर्जन ब्राण्डले मोटरसाइकल विक्री गर्दै आएका छन् भने बजाज र टीभीएसले नेपालमा नै एसेम्बल गर्न थालेका छन् । समय क्रमसँगै यहाँ अटोमोवाइल व्यवसाय निकै लोभलाग्दो व्यवसाय बन्न पुगेको छ ।

यसैको परिणाम हो अहिले विश्वका सबै क्षेत्रमा उत्पादन हुने मोटरसाइकल नेपाली बजारमा विक्री हुँदै आएको छ । भारत, जापान, चीन, इटली, थाइल्याण्ड, अमेरिका, बेलायत जस्ता देशमा जमेका ब्राण्डका मोटरसाइकल नेपाली बजारमा किन्न सकिन्छ । यी अधिकांश ब्राण्डले भारत र चीनमा उत्पादन गरेका मोटरसाइकल नेपालमा उपलब्ध हुँदै आएका छन् ।

विशेषत जापानी उत्पादकको बलियो उपस्थिति रहेको नेपालमा पछिल्ला दिनमा भारतीय ब्राण्ड हावी भएका छन् । हिरो होन्डा, यामाहा जस्ता मोटरसाइकलको बर्चश्व रहेको नेपाली बजारमा अहिले भारतीय ब्राण्ड बजाज, टीभीएस, हिरो, रोयल इन्फिल्ड लगायका ब्राण्डको दबदबा रहेको छ ।

जापानी ब्राण्ड यामाहा, होन्डा, सुजुकी जस्ता ब्राण्डको उपस्थिति पनि बलियो रहेको छ । त्यसैगरि यूरोपियन ब्राण्ड भेष्पा, अप्रिलिया, बनेली, डुकाटी, केटीएम, हस्कभर्ना, जावा जस्ता ब्राण्ड नेपालमा राम्रो विक्री हुनेमा पर्छन् । यस बाहेक चिनीयाँ उत्पादन र अन्य देशका उत्पादन पनि नेपालमा विक्री बढाउन संघर्ष गरिरहेका छन् ।

यस्तोमा सुरुका दिनदेखि नेपाल आएर आफुलाई अब्बल सावित गरेका ४ मोटरसाइकल यस प्रकार रहेका छन् ।

 

१. यामाहा आरएक्स १००ः सुरुवाती दिनमा धेरै संख्यामा विक्री हुन नसकेपनि नेपालमा सबैभन्दा चर्चित मोटरसाइकलको नाम लिदा यामाहा आरएक्स १०० को नाम सबैभन्दा अगाडि आउने गर्छ । टु स्टोक इन्जिन भएको कारण नेपाल सरकारले २०५६ सालबाट फोर स्टोक अनिर्वाय गरेसँगै यसको आयात बन्द भएको हो ।

मोरङ अटोवर्कले नेपालमा विक्री गरेको आरएक्स १०० मा ९८ सीसी क्षमताको इन्जिन दिएको थियो । यसको इन्जिन पनि निकै पावर फुल भएको कारण धेरैको रोजाईमा आरएक्स परेको मान्न सकिन्छ । यसको अधिकतम पावर ११ पीएस थियो भने १०.३९ एनएम टर्क प्रदान गथ्र्यो । विक्रम संम्बत २०४३ सालमा यसको मूल्य ८३ हजार रुपैयाँ रहेको थियो ।

२. हिरो होन्डा स्प्लेन्डरः हिरो र होन्डाले भारतमा संयुक्त लगानीमा स्थापना गरेको प्लान्टमा उत्पादन गरेको यो मोटरसाइकल निकै चर्चित वन्यो । हिरो र होन्डा छुट्टिएपछि पनि यसलाई हिरोले उत्पादन गर्दै आएको छ । हिरो होन्डा स्प्लेन्डर ज्योति समूहले नेपालमा विक्री गरेको थियो । भारतमा कम्पनी छुट्टिएपछि नेपालमा पनि हिरो र होन्डा ज्योति समूहकै अलग अलग कम्पनीले विक्री गर्दै आएको छ ।

हिरो होन्डा स्प्लेन्डरमा ९७.२ सीसी एयर कुल्ड, फोर स्टोक इन्जिन रहेको थियो । यो मोटरसाइकल कम मूल्य र उच्च माइलेजको कारण नेपालमा धेरै सफल भएको मानिन्छ । स्प्लेन्डरको सफलता यति बलियो भयो कि अहिले पनि यी पुराना मोटरसाइकल राम्रो मूल्यमा रिकन्डीसन बजारमा विक्री वितरण हुँदै आएको छ ।

३. बजाज पल्सर १५०ः बजाज पल्सर सन् २००१ मा नेपाल आएको मोटरसाइकल हो । सुरुवाती दिनदेखि नै यसले बजारमा निकै राम्रो छाप छोड्न सफल मोडल हो । अहिले पनि पल्सर १५० नेपालमा सर्वाधिक विक्री हुने मोटरसाइकल हो । १५० सीसीको पावर फुल इन्जिन र यसको आकर्षक लुकको कारण यसलाई धेरै युवाहरुले मन पराउँदै आएका छन् ।

४. होन्डा साइनः हिरो र होन्डा छुट्टिएपछि होन्डा साइन बजारमा आएको हो । नेपाली बजारमा सम्भवत उच्च मागको कारण महिनौ कुरेर किन्नु परेको मोटरसाइकल कुन हो ? सहज उत्तर साइन भन्दा हुन्छ । १२५ सीसी क्षमताको इन्जिन, उच्च माइलेज, आकर्षक डिजाइन, निकै छरितो मोटरसाइकल भएकै कारण यसको विक्री उच्च बन्न पुगेको हो । अहिले पनि होन्डा साइन सेग्मेन्टमा सर्वाधिक विक्री हुने मोटरसाइकलको रुपमा स्थापित रहेको छ ।


Back_to_top