काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो चर्चित प्रिमियम ह्याचव्याक कार आई २० को नयाँ जेनेरेशन मोडल नेपालमा विक्री सुरु गर्न लागेको छ । कम्पनीले कही महिनाअघि नै नेपाल ल्याउने तयारी गरेको नयाँ जेनेरेशन आई २० निशेधाज्ञा सकिएसँगै नेपाल आउने भएको हो ।
अघिल्लो पटकको लकडाउन पछि पनि ३ नयाँ मोडल नेपाल ल्याएको हुन्डाईले यस पटकपनि ३ नयाँ मोडल बजारमा उतार्ने भएको छ । अघिल्लो लकडाउन पछि नेपाल आएका ग्राण्ड आई १० नियोस र हुन्डाई क्रेटाले निकै राम्रो व्यापार गरिरहेको छ ।
अहिले पनि कम्पनीले ल्याउन लागेको नयाँ जेनेरेशन आई २० र नयाँ जेनेरेशन टुसानबाट कम्पनीले धेरै आशा गरेको छ । यी दुबै गाडी नेपाली बजारमा धेरै वर्षअघि देखि विक्री हुँदै आएका मोडल हुन् ।
हुन्डाईले नयाँ जेनेरेशन आई २० भारतमा २०२० मा सार्वजनिक गरेको थियो । भारतमा उच्च मागको कारण यसको नेपालमा विक्री सुरु हुन सकेको थिएन । नयाँ जेनेरेशन आई २० मा कम्पनीले धेरै सेग्मेन्ट फर्स्ट फिचर दिएको छ । यसले २०२१ मा सुरुमा भएको भारतको ‘इन्डिन कार अफ दि इयर’को अवार्ड समेत जितेको थियो ।
डिजाइन
अहिले बजारमा बिक्री भइरहेको आई २० इलाइटको तुलनामा नयाँ कारमा निकै धेरै परिवर्तन देख्न सकिन्छ । हुन्डाईले नयाँ जेनेरेशन आई २० लाई ‘सेन्सियस स्पोर्टनेश डिजाइन ल्याङ्वयज’मा तयार गरेको हो । नयाँ डिजाइन ल्याङ्वयजमा तयार भएकाले यसको अगाडिको फेसिका निकै आक्रमक देख्न सकिन्छ ।
ठूलो क्यासगेडिङ ग्रिल, डायमन्ड प्याट्रन फिनिसिङ, सार्प हेडल्याम्प, एलइडडी डेटाइम रनिङ लाइट जस्ता फिचरले यसलाई निकै आकर्षक देखाएको छ ।

कारको पछाडि भागमा दिएको जेड सेप्ड र्यापराउन्ड एलइडी टेल ल्याम्पसँगै जोडर दिइएको लामो एलइडी बारले गाडीलाई निकै आकर्षक देखाएको छ ।
सेग्मेन्टमै पहिलो फिचर
प्रिमियम ह्याचव्याक सेग्मेन्टमा टाटा अल्ट्रोज, मारुती सुजुकी बलेनो र फक्सवागन पोलोले प्रतिस्पर्धा गरिरहेका छन् । यस्तोमा कम्पनीले यसमा निकै धेरै सेग्मेन्ट फर्स्ट फिचर दिएको छ ।
कम्पनीले यसमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेन्ट कन्ट्रोल, रियर एसी भेन्ट, वायरलेस चार्जर, मल्टी फङ्सन स्टेरिङ ह्वील, बोसको ८ स्पीकर, हुन्डाईको ब्ल्यू लिंक कनेक्टीभीटी, क्रुज कन्ट्रोल जस्ता फिचरहरु उपलब्ध रहने छ ।
कम्पनीले पहिलो पटक सुरक्षाको लागि आई २० मा ६ वटासम्म एयरव्याग, एबीएस, इबीडी, टायर प्रेसर मोनिटर, रियर पार्किङ सेन्सर, रिभाइज पार्किङ क्यामेरा, इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल जस्ता फिचर दिएको छ ।

इन्जिन
कम्पनीले यसमा १.० लिटर टार्बो, १.२ लिटर फोर सिलिण्डर, १.५ लिटर डिजेल इन्जिन दिएको छ । यसमा कम्पनीले ५ स्पीड म्यानुयल र अटोमेटिकको साथ ६ स्पीड म्यानुयल र ७ स्पीड डियूल क्लच गियरबक्स दिइएको छ । डिजेल इन्जिनमा भने ६ स्पीड म्यानुयल गियरबक्स उपलब्ध रहने छ । यी मध्ये नेपाली बजारमा १.२ लिटर पेट्रोल इन्जिनमा आई २० उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
मूल्य
यसअघिको आई १० को तुलनामा नयाँ जेनेरेशन मोडलको मूल्य धेरै हुने छ । संभवत यसको मूल्य ३६ लाखदेखि ४१ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

