काठमाडौं । सामान पनि बोक्न मिल्ने र ५ जनासम्म यात्रीले आरामदायी यात्रा पनि गर्न सकिने भएकै कारण पीकअपहरु संसारभर धेरै रुचाइने गर्छन् । दुबै कामको लागि उपयोगी कुनै सवारी साधन सोच्यो भने सबैको दिमाखमा आउने पहिलो विकल्प पीकअप ट्रक नै हो । अहिले नेपाली बजारमा चल्तीको डबल क्याव पीकअप खोज्दा ३६ लाखदेखि १ करोड ९ लाख रुपैयाँसम्ममा किन्न पाइन्छ ।
पहाडी कच्चीबाटामा यात्रा गर्नु पर्दा फोर ह्वील ड्राइभ अप्सन भएको पीकअप एकदमै उपयुक्त मानिन्छ । नेपाली बजारमा जापनीज, अमेरिकन, चिनीयाँ तथा भारतमा निर्माण भएका पीकअपहरु उपलब्ध रहेका छन् । धेरै जसो हाइड्रोपावर प्रोजेक्ट तथा निर्माण कम्पनीहरुले पीकअप ट्रक किन्ने गरेका छन् । १ टनसम्म सामान बोक्न तथा प्रोजेक्ट मेनेजर तथा इन्जिनियरहरुलाई दुर दराजमा रहेको साइटसम्म पुग्नका यस्ता पीकअप प्रयोग गर्ने गरेको पाइन्छ ।
नेपालमा टोयोटाको हाइलक्स सबैभन्दा चर्चित पीकअप मोडल हो । हालका वर्षहरुमा भारतीय र चाइनीज ब्राण्डले पनि राम्रो बजार पाइरहेका छन् । नेपालमा उपलब्ध मुख्य कम्पनीका फोर ह्वील पीकअपको बारेमा चर्चा गरेका छौं ।
टोयोटा हाइलक्स

नेपाली बजारमा डबल क्याव पीकअपमा सर्वाधिक चर्चा कमाएको मोडल टोयोटा हाइलक्स हो । जापनीज टोयोटा ब्राण्ड प्रतिको जन विश्वास तथा नेपाली बाटामा निकै सफल मानिएको गाडी भएर होला पीकअप किन्ने सबैको पहिलो रोजाईमा टोयोटा हाइलक्स हुने गरेको छ । तर, मूल्यको कारण धेरैले यसलाई किन्ने आँट भने गर्दैनन् ।
नेपालमा हाइलक्स २.४ लिटर तथा २.८ लिटरको डिजल इन्जिन अप्सनमा उपलब्ध रहेको छ । एबीएस, एक्टीभ ट्रायाक्सन कन्ट्रोल, ब्रेक असिस्ट, ड्यूल एयरव्याग, स्टाबीलीटी कन्ट्रोल, टायर प्रेसर मोनिटरीङ जस्ता सुरक्षा फिचरहरु यसमा पाउन सकिन्छ । हाइलक्समा मल्टीफङ्सन स्टेरिङ ह्वील, स्टार्ट/स्टप बटन, टिएफटी इन्फोटेन्मेन्ट सिस्टम, एयर कन्डिसन, इलेक्ट्रीक मिरर, सेन्ट्रल लकिङ, यूएसबी पोर्ट जस्ता आधुनिक फिचर रहेका छन् । नेपाली बजारमा यसको मूल्य २.४ लिटरको ९५ लाख तथा २.८ लिटर इन्जिन अप्सनको १ करोड ९ लाख तोकिएको छ ।
निसान नाभारा

टोयोटा जस्तै जापनीज ब्राण्ड भएका कारण निसानको नाभारा पनि उत्कृष्ट पीकअपमा पर्छ । तर, यसको विक्री भने सन्तोषजनक छैन । २.५ लिटर डिजल इन्जिनमा रहेको नाभारा अटोमेटिक र म्यानुयल ट्रास्मिसनमा फोर ह्वील अप्सन उपलब्ध रहेको छ । आधुनिक सेफ्टी तथा अन्य फिचरहरुले सुसज्जीत नाभारा पीकअपमा ६ स्पीडको म्यानुअल तथा ७ स्पीडको अटोमेटिक गियरबक्स रहेको छ । नेपाली बजारमा नाभाराको मूल्य म्यानुुयलको ९५ लाख ४९ हजार तथा अटोमेटिकको १ करोड ६ लाख ८५ हाजार तोकिएको छ ।
फोर्ड रेन्जर

नेपाली बजारमा अमेरिकी ब्राण्ड फोर्डको रेञ्जर पीकअफ उपलब्ध रहेको छ । रेन्जर २.० लिटर तथा ३.२ लिटरको दुईवटा डिजेल इन्जिन अप्सनमा रहेको छ । फोर्डको रेञ्जरमा २.० लिटर इन्जिनमा तथा ३.२ लिटरको एक्सएल र एक्सएलटी इन्जिन अप्सन भएको दुबै पीकअपमा अटोमेटिक गियरबक्स रहेको छ । तर, ३.२ लिटर इन्जिन अप्सन एक्सएल मोडल भने म्यानुयल गियरबक्स सहित किन्न सकिन्छ । सुरक्षा फिचरले भरिपूर्ण फोर्डको रेञ्जरमा टचस्कृन इन्फोटेन्मेन्ट सहितको आधुनिक फिचरहरुले सुसज्जीत रहेको छ । यसको सुरुवाती मूल्य २.० लिटर इन्जिन अप्सनको ८३ लाख तथा ३.२ लिटर अप्सनको ८९ लाख ९९ हजार देखि १ करोड ९ लाख ९० हजारसम्म रहेको छ ।
जीओ फोर्डले फोर्डको अर्को स्टाइलीस प्योर अफरोड मोडल र्याप्टर पनि नेपाली बजारमा अर्डर अनुसार उपलब्ध गराउदै आएको छ । यसमा २.२ लिटर इन्जिन छ, र्याप्टर एस मोडलको मूल्य १ करोड ४९ लाख रहेको छ ।
इसुजु डीम्याक्स

पछिल्लो समयमा नेपाल आएको पीकअप मध्ये सर्वाधिक सफल इसुजु डीम्याक्सले निकै राम्रो विक्री पाइरहेको छ । भारतमा निर्मित इसुजुको एसक्याब र भी क्रस दुई मोडल नेपालमा किन्न सकिन्छ । एसक्याबमा २.५ लिटरको इन्जिन रहेको छ भने भी क्रसमा २.५ लिटर तथा ३.० लिटर इन्जिन अप्सनमा उपलब्ध रहेको छ । नेपालमा इसुजुका पीकअपहरु म्यानुअल गियरमा मात्र उपलब्ध रहेको छ । आधुनिक फिचरहरुले सुुसज्जीत एसक्यावको सुरुवाती मूल्य मूल्य ४४ लाख ९० हजार रहेको छ । भी क्रस २.५ लिटरको मूल्य ६८ लाख ९० हजार तथा ३.० लिटर इन्जिन अप्सनको मूल्य ८६ लाख ९० हजार रुपैयाँ रहेको छ ।
महिन्द्रा स्कर्पियो पिकअप

नेपाली बजारमा मूल्यका हिसाबले सबैभन्दा कम र उत्कृष्ट पीकअपको नाम लिदा आउने नाम हो महिन्द्राको स्कर्पियो । २.२ लिटरको डिजल इन्जिन रहेको महिन्द्रा स्कर्पियो एस फोर तथा एस सिक्स टु ह्वील ड्राइभ अप्सनमा उपलब्ध छन् । त्यस्तै एस सिक्स तथा एसटेन मोडल भने फोर ह्वील सिस्टममा पाउन सकिन्छ ।
महिन्द्राका गाडीहरु नेपाली बाटो सुहाउँदो मानिएको छ । महिन्द्राको स्कर्पियो मोडलको एसयूभी नेपालमा सबैभन्दा धेरै बिक्ने एसयूभीको ताज पहिरीन सफल भएको छ । स्कर्पियो पीकअपले पनि नेपाली बजारमा ‘भ्यालुफर मनी’ भन्ने कुरा प्रमाणित गरिसकेको छ । आधुनिक फिचरहरुले सुसज्जीत स्कर्पियो पीकअपको मूल्य एस फोरको ३६ लाख ९५ हजारबाट सुरु भई एसटेन फोर ह्वीलको मूल्य ४६ लाख २० हजार रहेको छ । महिन्द्राका सबै पीकअपहरु म्यानुयल गियरबक्समा रहेका छन् ।
फोटोन टुनल्याण्ड

चाइनीज अटोमोवाइल जायन्ट फोटोनको पीकअप ट्रक टुनल्याण्ड नेपाली बजारमा गत वर्षबाट विक्री सुरु भएको हो । फोटोनको टुनल्याण्डमा विश्व प्रसिद्ध कमिन्सको २.८ लिटर टर्बोचार्ज्ड, इन्टरकुलर डिजल इन्जिन रहेको छ । वाहिरी डिजाइन तथा क्यावीन फिचरहरु आकर्षक रहेको टुनल्याण्डमा सबै आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ ।
नेपाली बजारमा टुनल्याण्डको ई तथा फुलअप्सन एस मोडल उपलब्ध रहेको छ । फोर ह्वील ड्राइभ अप्सन रहेको टुनल्याण्ड ईको मूल्य ५४ लाख ९० हजार रहेको छ भने फुल अप्सन टुनल्याण्ड एसको मूल्य ७९ लाख ९० हजार रहेको छ ।


