१७ दिनपछि २०० सीसीको एड्भेन्चर मोटरसाइकल सार्वजनिक गर्दै होन्डा

कम्पनीले सार्वजनिक गरेको तस्विर

काठमाडौं । होन्डाले २०० सीसी क्षमताको एड्भेन्चर मोटरसाइकल अगष्ट १९ तारिखमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले भारतमा उत्पादन गरेको पहिलो एड्भेन्चर मोटरसाइकलको रुपमा यसलाई बजारमा उतार्न लागेको हो ।

भारतीय बजारबाट विक्री सुरु हुने यो नयाँ मोटरसाइकल हर्नेट २.० मा आधारित रहने बताइएको छ । सिबी ५०० एक्सबाट प्रेरित यो नयाँ मोटरसाइकलको नाम ‘एनएक्स २००’ रहने छ ।

केही समय अघि होन्डाले ‘एनएक्स २००’ नामको ट्रेडमार्क दर्ता गरेको थियो । होन्डाले भारतमा अघिल्लो वर्ष २.० प्ल्याटफर्म सार्वजनिक गरेको थियो । उक्त प्ल्याटफर्ममा कम्पनीले पहिलो मोटरसाइकल हर्नेट २.० बजारमा ल्याएको हो । एड्भेन्चर टुरर मोटरसाइकलको बढ्दो मागलाई सम्बोधन गर्न कम्पनीले ‘एनएक्स २००’ बजारमा ल्याउन लागेको हो ।

कम्पनीले यसमा हर्नेट २.० को तुलनामा फरक चेसिस प्रदान गर्ने छ भने दुबैतिर १९ इन्चको ह्वील, अफरोड टायर, अग्लो विन्डस्कृन र नकल गार्डको प्रयोग गर्ने अनुमान गरिएको छ ।

कम्पनीले यसमा हर्नेट २.० मा प्रयोग भएको समान १८४.४ सीसी क्षमताको एयरकुल्ड, सिंगल सिलिण्डर इन्जिन प्रदान गर्ने अनुमान गरिएको छ । उक्त इन्जिनले १७.२७ पीएस पावर र १६.१ एनएम टर्क प्रदान गर्नेछ । यसको सिधा प्रतिस्पर्धा हिरो एक्सपल्स २०० सँग हुने अनुमान गरिएको छ ।


Back_to_top