काठमाडौं । चिनियाँ मोटर कम्पनी चेरीका उत्पादन नेपाल आउने भएको छ । चिनियाँ सरकारको समेत लगानी रहेको चेरी अटोमोवाइल कम्पनी लिमिटेडका उत्पादन सारडा ग्रुपले नेपाल ल्याउने भएको हो ।
सन् २०१० ताका नेपाली बजार चेरी ब्राण्डका उत्पादनहरु बतास अर्गनाइजेसन अन्तर्गतको बामा मोटर्सले विक्री गरेको थियो । पछि पाट्स तथा सर्भिसमा समस्या आएपछि यो ब्राण्ड नेपाली बजारबाट विस्थापित भएको हो ।
केही दिनअघि मात्र चेरी ब्राण्डको नेपालमा कम्व्याक हुने टुङ्गो लागेको हो । अब सारडा ग्रुपले चेरी ब्राण्डका गाडी नेपाली बजारमा आधिकारीक विक्री सुरु गर्ने छ ।
एजेन्सी सम्झौँतापछि दशैंसम्ममा चेरीका उत्पादनहरु नेपाली बजारमा ल्याउने लक्ष्यसहित काम भइरहेको सारडा ग्रुपका निर्देशक गौरव सारडाले मेरोअटोलाई जानकारी दिए । कम्पनीले चेरीको शोरुम थापाथलीमा निर्माण सुरु गरिसकेको छ ।
पछिल्लाे वर्षहरुमा नेपाली अटोबजारमा भारतीय, कोरियन, जापनीज तथा युरोपियन ब्राण्डकाे दबदबा रहेपनि चिनियाँ अटोमोवाइल कम्पनीका उत्पादन पनि आयात सुरु भएको छ ।
अत्याधुनिक फिचर, आकर्षक डिजाइन र कम मूल्यको कारण चिनियाँ उत्पादन एकपछि अर्को ब्राण्ड नेपाल आउन थालेको छ । केही दिनअघि मात्रै ग्रेटवाल मोटर्सको पनि कम्व्याक भएको थियो ।
सारडा ग्रुपले अहिले नेपाली बजारमा निसान तथा डाट्सनका उत्पादनहरु विक्री वितरण गर्दै आएको छ ।


