काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले भारतीय बजारमा कम मूल्यको इलेक्ट्रीक कार ल्याउने तयारी गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ । कम्पनीले ई-२०० प्ल्याटफर्ममा आधारित रहेर नयाँ इलेक्ट्रीक कार ल्याउन लागेको जनाइएको छ ।
अहिले एसएआइसी ग्रुपले यही प्ल्याटफर्ममा वाओजुन २०० इलेक्ट्रीक कार उत्पादन गरिरहेको छ । भारतीय बजारमा कम मूल्यको विद्युतीय गाडीको खोजी बढेसँगै वार्षिक २० हजार यूनिट विक्री गर्ने योजना सहित एमजीले नयाँ इलेक्ट्रीक कार उत्पादन गर्न लागेको हो ।
वाओजुन निकै सानो साइजको गाडी हो । तर, भारतमा यसको साइज बढाएर १० लाखभन्दा कम मूल्यमा आउनेगरी नयाँ गाडी ल्याउने रिपोर्टमा दावी गरिएको छ । त्यसैगरी २० लाखभन्दा कम मूल्यमा आउनेगरी सब फोर मिटर साइजमा पनि नयाँ गाडी ल्याउने छ । नयाँ सब फोर मिटर एसयूभीको प्रतिस्पर्धा टाटा नेक्सनसँग हुनेछ ।
एमजीले भारतमा उत्पादन गरेको गाडी चाँडै नेपाल आउने अनुमान गरिएको छ । यस्तोमा भारतमा एमजीले निर्माण गर्ने कम मूल्यका इलेक्ट्रीक कार पनि नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।
अहिले नेपालमा विक्री हुँदै आएको एमजी इजेडएस सबैभन्दा चल्तीको इलेक्ट्रीक एसयूभी हो । यसको मूल्य ५० लाख ९९ हजार निर्धारण गरेर विक्री गर्दै आएको छ ।


