काठमाडौं । अक्टोबर २०२१ मा विश्वभर ५ लाख ८९ हजार यूनिट विद्युतीय कार विक्री भएको तथ्यांक सार्वजनिक भएको छ । इभी भोल्यूम डाटाको रिपोर्ट अनुसार यो अघिल्लो वर्ष २०१९ अक्टोबरको तुलनामा ७० प्रतिशतले बढी हो ।
सेप्टेम्बर २०२१ मा ६ लाख ८५ हजार यूनिट इलेक्ट्रीक गाडी विक्री भएको थियो । रिपोर्टमा व्याट्री मात्रै प्रयोग भएको इभी र प्लगइन हाइब्रिडको तथ्यांक देखाइएको छ । त्यसमा व्याट्री मात्रै जडान भएको इभीको हिस्सा ७९ प्रतिशत रहेको छ भने प्लगइन हाइब्रिडको हिस्सा २१ प्रतिशत रहेको छ ।
योसँगै विश्व बजारमा इलेक्ट्रीक गाडीको मार्केट सेयर ८.८ प्रतिशत पुगेको रिपोर्टमा उल्लेख छ । जसमा व्याट्री इलेक्ट्रीकको हिस्सा ६.२ प्रतिशत र प्लगइन हाइब्रिडको हिस्सा २.६ प्रतिशत रहेको छ ।
यो वर्ष अक्टोबरसम्ममा सबैभन्दा धेरै इभी विक्री गर्ने टेस्ला, विलिङ, फक्सवागेन, बीवाइडी जस्ता ब्राण्ड भएका छन् । अक्टोबरसम्म टेस्लाले ६ लाख ७६ हजार ६५५ यूनिट इलेक्ट्रीक कार विक्री गरेको छ । दोस्रो स्थानमा रहेको बीवाइडीले ४ लाख ९ हजार ९३३ यूनिट इभी विक्री गरेको छ ।
त्यसैगरी एसएआइसी ग्रुपले ३ लाख ४९ हजार ३६२ यूनिट, फक्सवागेनले २ लाख ७८ हजार ७४६ यूनिट, बीएमडब्लू २ लाख २० हजार यूनिट इभी गरेर टप पाँच कम्पनीमा परेका छन् ।


