काठमाडौं । मारुती सुजुकी सेलेरियोको प्रि-बुकिङ खुल्ला भएको छ । भारतमा अघिल्लो महिना सार्वजनिक भएको नयाँ जेनेरेशन सेलेरियोको सिजी मोटोकर्पले नेपालमा प्रि-बुकिङ खुल्ला गरेको हो ।
इन्डो-जापानी कम्पनीले नयाँ जेनेरेशन सेलेरियोलाई पहिलेको भन्दा धेरै टेक्नोलोजीको प्रयोग, धेरै माइलेज, थप सुरक्षा फिचर, थप आरामदायी भएर आएको छ । सानो परिवारको लागि उपयोगी मानिने सेलेरियो यसअघिका पहिलोे जेनेरेशन पनि निकै राम्रो विक्री भएको थियो ।
कम पैसामा कारको आवश्यकता पुरा गर्नेको लागि सेलेरियो पर्फेक्ट कार हुने कम्पनीको भनाई छ । अहिले प्रि-बुकिङ सुरु भएको सेलेरियोको डेलिभरी भने माघको पहिलो हप्ताबाट हुने कम्पनी स्रोतले जानकारी दिएको छ ।
कम्पनीले नयाँ जेनेरेशन सेलेरियो कति भेरियन्टमा नेपाल आउँछ भन्ने विषयमा जानकारी नदिएपनि यसको सुरुवाती भेरियन्टको मूल्य २७ लाख ९९ हजार रुपैयाँ हुने जनाएको छ ।
यस्तो छ नयाँ सेलेरियो
निकै आकर्षक लुक्समा तयार भएको नयाँ जेनेरेशन सेलेरियो उच्च माइलेज दिने ह्याचव्याक भएको छ । कम्पनीले यसमा १.० लिटर ड्यूलजेट इन्जिन दिएको छ । आइडियल स्टार्ट/स्टप सिस्टम सहित आएकोले यो इन्जिनले २६.६८ किलोमिटर प्रतिलिटरको उच्च माइलेज दिने कम्पनीको दावी छ ।

यसमा दिइएको इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्छ । यसअघिको सेलेरियोको तुलनामा नयाँ इन्जिनले २ हर्स पावर र एक एनएम टर्क कम उत्पादन गर्छ । यसलाई कम्पनीले म्यानुयल र एएमटी गियरबक्समा ल्याएको छ । तर, नेपालमा अटोमेटीक भेरियन्ट आउने वा नआउने भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।
लम्बाई र उचाई पहिलेको मोडल जस्तै समान ३६९५ एमएम र १५५५ एमएम रहेको नयाँ सेलेरियोको चौडाई भने ५५ एमएम बढी रहेको छ । यसको चौडाई १६५५ एमएम छ । ह्वीलवेस १० एमएम र ग्राउन्ड क्लियरेन्स ५ एमएमले बढेको छ । यसमा २४३५ एमएमको ह्वीलवेस र १७० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
पहिलो पटक सेलेरियोमा इन्फोटेन्टमेन्ट सिस्टम, अलोय ह्वील जस्ता फिचर थप भएका छन् भने, क्यावीन पहिलेको भन्दा प्रिमियम पाउन सकिन्छ ।

