काठमाडौं । हरेक महिना मोटरसाइकलको मूल्य बढी रहेको छ । सरकारले पनि नेपालमा नै एसेम्बललाई प्राथमिकता दिन भन्दै अन्तःशुल्कमा एक तह फरक परेर कर निर्धारण गरेसँगै ग्राहकले थप रकम तिर्नु पर्ने अवस्था आएको हो ।
अहिले नेपालमा बजाज र टीभीएसले मोटरसाइकल एसेम्बल गरिरहेका छन् । यी दुई ब्राण्डले नेपालमा विक्री गर्ने मोटरसाइकलको मूल्य अन्यको तुलनामा केही कम राख्न सक्ने अवस्था सृजना भएको छ । त्यसैले अन्य ब्राण्डको तुलनामा ३ देखि ५ हजार मूल्य कम कायम गरेर यी दुई ब्राण्डले १२५ सीसी क्षमताको मोटरसाइकल विक्री गर्दै आएका छन् ।
बजाज पल्सर १२५ र टीभीएसको नयाँ मोडल रेडर अहिले १२५ सीसी सेग्मेन्टमा सर्वाधिक स्पोर्टी लुक्स भएका मोटरसाइकल हुन् । यी दुबै मोटरसाइकलको मूल्यमा तीन हजार रुपैयाँको फरक पाउन सकिन्छ । बजाज पल्सर १२५ को मूल्य २ लाख ४४ हजार ९०० रुपैयाँ कायम गरेर विक्री हुँदै आएको छ भने, टीभीएस रेडरको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ रहेको छ ।
मूल्यमा तीन हजार मात्रै फरक रहेको यी दुई मोटरसाइकलमा अन्य फरक यसप्रकार रहेका छन् ।
१. इन्जिन
सवारी साधनको महत्वपूर्ण पार्टस् इन्जिन हो । बजाज र टीभीएसले यी दुबै मोटरसाइकलमा १२४ सीसी क्षमताको इन्जिन दिएका छन् । बजाजले पल्सरमा दिएको इन्जिनले अधिकतम ११.८ पीएस पावर र १०.८ न्यूटर्न मिटर टर्क प्रदान गर्छ ।
टीभीएस रेडरमा रहेको इन्जिनले अधिकतम १२.९ पीएस र ११.५ एनएम टर्क प्रदान गर्छ । रेडरमा सिंगल सिलिण्डर, ३ भल्भयुक्त इन्जिन छ भने पल्सरमा सिंगल सिलिण्डर टु भल्भयुक्त इन्जिन पाउन सकिन्छ । दुबै मोटरसाइकलमा ५ स्पीड गियरबक्स दिइएको छ ।

२. इन्धन ट्याङ्क र माइलेज
बजाजले पल्सरमा ११.५ लिटर क्षमताको ट्याङ्की दिएको छ । टीभीएस रेडरमा भने १० लिटरको ट्याङ्की पाउन सकिन्छ । एआरएआईले प्रमाणित गरे अनुसार दुबै मोटरसाइकलको माइलेज प्रतिलिटर ५५ किलोमिटर भन्दा माथि देखिएपनि सडकमा गुडाउँदा ४० देखि ४५ किलोमिटर पाउन सकिने छ । टप स्पीडमा भने पल्सर १२५ केही अगाडि छ ।
३. ब्रेकिङ सिस्टम
दुबै मोटरसाइकलमा एबीएस छैन । बजाजले सिबीएस र टीभीएसले एसबीटी टेक्नोलोजीको प्रयोग गरेका छन् । दुबै मोटरसाइकलमा अगाडि समान २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिएका छन् । अगाडि र पछाडि नै समान १७ इन्चको अलोय ह्वील, ट्यूवलेस टायर, अगाडि टेलिस्कोपीक सस्पेन्सन दुबै मोटरसाइकलमा प्रयोग भएको छ ।
पछाडिको सस्पेन्सन भने फरक छ । बजाजले ट्वीन ग्यास शक दिएको छ भने टीभीएसले ५ तरिकाले एड्जस्ट गर्न मिल्ने मोनोशक दिएको छ ।

४. साइज
साइजमा टीभीएस रेडर लामो छ । रेडरको लम्बाई २०७० एमएम छ भने पल्सरको लम्बाई २०४२ एमएम छ । रेडरको चौडाई ७८५ एमएम, उचाई १०२८ एमएम र ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ ।

बजाज पल्सर १२५ को चौडाई ७६५ एमएम, उचाई १०६० एमएम र ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ । ह्वीलवेसमा थोरैले रेडर अगाडि रहेको छ । यसमा १३२६ एमएम र पल्सरमा १३२० एमएमको ह्वीलवेस पाउन सकिन्छ । सिट हाइटमा भने पल्सर अगाडि छ । पल्सरमा ७९० एमएम र रेडरमा ७८० एमएम सिट हाइट रहेको छ ।
५. अन्य फिचर

रेडर पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर भएको मोटरसाइकल हो । पल्सरमा सेमी डिजिटल क्लष्टर पाउन सकिन्छ । रेडरमा अन्डर सिट स्टोरेज दिइएको छ भने पल्सरमा यो सुविधा छैन । पल्सरमा हेलोजीन लाइटको प्रयोग भएको छ भने रेडरमा एलइडी लाइट पाउन सकिन्छ । दुबै मोटरसाइकलमा एलइडी टेल ल्याम्प रहेको छ ।


