काठमाडौं । नेपाली अटो मोवाइल बजारमा एउटा नयाँ ब्रान्डको उपस्थिति हुने भएको छ । अमेरिकन क्रिसलर मोटर्स अन्तर्गतको जीप ब्रान्ड नेपाली बजारमा आउने भएको हो ।
एमएडब्लु लाइफ अटोमोवाइलले नेपाली बजारमा ल्याउन लागेको जीपको शोरुम निर्माण अन्तिम चरणमा पुगेको छ ।
४ हजार स्क्वायर फिटमा निर्माण भइरहेको यो शोरुममा लगाइएको सबै वत्ती बाल्ने हो भने जीप गाडीको कम्पार्टमेन्टमा भएको सबै पाटर्सहरु छलङग देखिने किसिमले निर्माण गरिएको छ । साथै, सर्भिस सेन्टरसमेत त्यही किसिमले निर्माण गरिएको छ ।
नक्साल नारायण चौरमा निर्माण भइरहेको उक्त शोरुम जीपको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भइरहेको एमएडब्लु लाइफले जनाएको छ ।
शोरुम निर्माणमा प्रयोग भएका हरेक निर्माण सामाग्री जीपले निर्धारण गरेको मापदण्डमा भइरहेको दाबी गर्दै कम्पनीले अबको १० दिनमा शोरुम तयार गरी जुलाईको अन्त्यसम्ममा जीपको आधिकारीक बिक्री वितरण गर्ने जनाएको छ ।

कम्पनी स्रोतका अनुसार सुरुमा जीपका एक मोडल कम्पास नेपाली बजारमा आउने छ । कम्पासको ६ वटै भेरिएन्ट नेपाली बजारमा उपलब्ध हुने छ । भारतीय बजारमा उत्पादन भएका जीप कम्पास नेपाली बजारमा पनि निकै प्रतिक्षा गरिएको मोडलमा पर्छ ।


