काठमाडौं । सरकारले मोटरसाइकलमा पछाडि बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने व्यवस्था लागू गर्ने तयारी गरेपछि अहिले यो विषय चर्चामा छ । एकाथरीले यसलाई राम्रो काम भनेका छन् भने केहीले ‘पोलिसी ह्याक’ भन्ने गरेको सुनिन्छ ।
सवारीसाधन दुर्घटनाबाट बच्न र पछाडि बसेको प्यासेन्जरलाई पनि बचाउन हेल्मेट अनिवार्य गर्ने सरकारी तयारीलाई राम्रो मान्नुपर्छ । मोटरसाइकल अहिले निजी यातायातको साधन मात्रै रहेन । नेपालमा खुलेका विभिन्न राइड एण्ड सेयरिङ प्लेटफर्महरूले मोटरसाइकलमा यात्रु बोक्न थालेसँगै सडक दुर्घटनाका थप बढ्न थालेको छ ।
मोटरसाइकलले यात्रु बोक्दा धेरै विषयमा गम्भीर बन्नु पर्ने तर्क यातायात व्यवस्था विभागले गर्दै आएको छ । त्यसैको एउटा पाटोको रूपमा चालक र पछाडि बस्ने यात्रुको अनिवार्य बीमा सुरू भइसकेको छ । यसरी निजी प्रयोजनको लागि दर्ता भएका साधनले यात्रु बोक्न थालेसँगै धेरैले सुरक्षाको विषय थप कडाइका साथ उठाउन थालेका छन् ।

अहिले मोटरसाइकलमा हुने दुर्घटनालाई सही तरिकाले मिडियाले उल्लेख नगरेको बताउँदै नासा नेपालको सडक सुरक्षा कोअडिनेटर तथा पद्मकन्या क्याम्पसको उपप्राध्यापक भगवती सेढाईं भन्छिन्, ‘यो दुर्घटना होइन क्र्यास हो । यसलाई हामीले मोटरसाइकल क्र्यास भन्नुपर्छ ।’
सही तरिकाले हेल्मेट नलगाउने र ट्राफिक नियम नमानेका कारण मोटरसाइकल क्र्यास बढ्दो अवस्थामा रहेको बताउँदै सेढाईंका भन्छिन्, ‘सही तरिकाले हेल्मेट लगाउने हो भने मात्रै पनि ७० प्रतिशत यात्रुलाई क्र्यास भएको खण्डमा टाउकोमा लाग्ने चोटबाट बचाउन सकिन्छ भने ४० प्रतिशत मृत्युदर घटाउन सकिन्छ ।’
सेढाईंका अनुसार मोटरसाइकलको हेल्मेट लगाउने तरिकालाई सही रूपमा अबलम्बन नगर्दा हेल्मेटले काम गर्न सकिरहेको छैन ।
सवारी ऐन २०४९ मै मोटरसाइकलमा पछाडि यात्रा गर्ने यात्रुको लागि पनि हेल्मेट अनिवार्य गरिएको छ । बीचमा केही वर्ष दुवै जनालाई हेल्मेट अनिवार्य गरिएको भए पनि त्यो नियम विस्तारै हटाइएको थियो । पुनः एक पटक यातायात व्यवस्था विभागले दुई हेल्मेट अनिवार्य गर्ने भनेपछि अहिले यो विषय निकै चर्चामा रहेको छ ।
आजभन्दा २९ वर्ष अगाडि नै यातायात ऐन बन्दा दुई हेल्मेट अनिवार्य भएकाले बजारमा धेरैले टिप्पणी गरे अनुसार यसलाई ‘पोलीसी ह्याक’ भन्न मिल्दैन । यो मानिसको जीवन बचाउने आवश्यकताको वस्तु नै हो ।
बढ्दो दुर्घटना र हेल्मेट
अहिले उपत्यकामा करिब २ लाखभन्दा धेरै मोटरसाइकलले विभिन्न राइड सेयरिङ प्लेटफर्ममा आबद्ध भएर यात्रु बोक्न थालेका छन् । साथै, आफ्नो परिवार र बाहिरका मानिसलाई लिफ्ट दिने चलन पनि रहेको छ । यस्तोमा अधिकांश मोटरसाइकल तथा स्कुटरमा दुई जनाले यात्रा गर्ने गरेको पाइन्छ ।

दुर्घटनाको तथ्यांकले पनि सर्वाधिक धेरै मोटरसाइकल पर्ने गरेको छ । मोटरसाइकलको दुर्घटना अधिकांश समयमा उच्च गतिकै कारण हुने गरेकाले यसमा मृत्यूदर पनि बढी रहेको ट्राफिक तथ्यांकले देखाएको छ । सडक दुर्घटना पछि मोटरसाइकलमा यात्रा गर्ने धेरैले टाउकोमा लागेको गम्भीर चोटका कारण मृत्युवरण गरेका छन् भने धेरै मानिस टाउकोमा लागेको चोटका कारण अपाङ्गता भएका छन् ।
नेपालमा वार्षिक ८ हजार बढी मोटरसाइकल दुर्घटना हुने गरेको र सो दुर्घटनामा १०० जना भन्दाबढीले ज्यान गुमाउने गरेको तथ्यांकले देखाएको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्न पनि हेल्मेट अनिवार्य गर्नु पर्ने अवस्था आएको विभिन्न सरोकारवाला निकायको भनाइ छ ।
हेल्मेट अर्थतन्त्र
राम्रो र गुणस्तरीय हेल्मेट ३० डलरदेखि २०० डलरसम्ममा किन्न पाइन्छ । उसोत १ लाख ५० हजारसम्म पर्ने हेल्मेट काठमाडौंमा नै किन्न पाइन्छ । तर महंगो हुँदैमा मात्र हेल्मेटले सुरक्षा प्रदान गर्छ भन्ने होइन ।
उपप्राध्यापक सेढाईं भन्छिन्, ‘हामी २ देखि २० लाखसम्मको मोटरसाइकल किन्न सक्छौं तर, आफ्नो सुरक्षाको लागि चाहिने हेल्मेटमा २/३ हजार खर्च गर्न मान्दैनौं । हेल्मेट कस्तो छ भन्ने होइन, दुर्घटनाको समयमा ठोकिदा इम्प्याक्ट थेग्ने क्षमता कति छ भनेर हेर्नु पर्छ । त्यसैले सधैँ सुरक्षा सर्टिफाईड हेल्मेट मात्रै प्रयोग गर्नु पर्छ ।’
अहिले देशभर चल्तीमा रहेका मोटरसाइकलको संख्या करिब २२ देखि २५ लाख हाराहारीमा रहेको छ । यी मध्य करिब १० लाखले मात्रै २ हजार मूल्यको हेल्मेट किन्ने हो भने करिब २ अर्बको हेल्मेट बजार थपिने छ ।


