‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने १० गेट बनाउँदै, चोर समाउन सजिलो हुने

काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडानसँगै देशभर १० स्थानमा ‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने गेट (आरएफआइडी) राख्ने भएको छ । गेट राखेपछि चोरीका साधन पक्रन सजिलो हुने जनाएको छ ।

‘इम्बोस्ड नम्बर प्लेट’ जडान भएपनि त्यसलाई नियमन गर्न विभागले छिट्टै आरएफआइडी राख्न लागेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरिेले जानकारी दिए ।

महानिर्देशक घिमिरेका अनुसार काठमाडौं उपत्यका भित्रका ६ स्थान र उपत्यका बाहिर ४ स्थानमा आरएफआइडी गेट राख्ने तयारी भइरहेको छ । सुरुमा देशभर १० स्थानमा आरएफआइडी गेट राखिने छ ।

पहिलो चरणमा थानकोटमा आएफआइडी गेट राखिने छ । उक्त स्थानमा गेट राख्नका लागि स्थान अवलोकनको काम भइरहेको उनले बताए । उनले सम्भवत माघ महिना भित्र थानकोट र बानेश्वरमा आरएफआइटी गेट निर्माण गरिने बताए ।

‘थानकोटमा आरएफआइडी गेट निर्माण गर्ने भएका छौँ, त्यहाँ गेट निर्माणका लागि अवलोकन भएको छ, माघ महिना भित्र थानकोट र बानेश्वरमा २ वटा गेट बनाउने छौँ,’ घिमिरेले भने ।

उनका अनुसार उक्त गेटले चोरी भएका गाडी कुन ठाउँबाट कहाँ पुगे भन्ने कुरा देखाउने छ । यो ट्रयाकिङ सिस्टम जस्तो भने हुने छैन । आरएफआइडी राख्न भने कम्तीमा ५ लेनको सडक चाहिन्छ ।


Back_to_top