काठमाडौं । होन्डाले यसअघि सिकेडी रुटबाट ल्याएर भारतमा विक्री गर्दै आएको सिबी ३०० आर भारतमै उत्पादन सुरु भएको छ । कम्पनीले सन् २०१९ बाट भारतमा यसको विक्री सुरु गरेको थियो ।
सन् २०२० अप्रिल १, तारिखबाट भारतले नयाँ प्रदुषण मापदण्ड बीएस ६ लागु गरेसँगै सिबी ३०० आरको विक्री बन्द भएको थियो । अब होन्डाले यसलाई भारतमा नै उत्पादन सुरु गरेसँगै यसको चर्चा थप बढेको हो । भारतमा उत्पादन भएका होन्डाका अधिकांश मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा पनि उपलब्ध रहेको कारण सिबी ३०० आर नेपाल आउने वा नआउने विषयमा चर्चा हुनु स्वभाविक हो ।
होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले यस विषयमा कुनै जानकारी दिएको छैन । यद्यपी हाइनेस सिबी ३५० जस्ता उत्पादन नेपाल ल्याएर विक्री गर्दै आएको कम्पनीले भविष्यमा सिबी ३०० आर पनि नेपाल ल्याउने अनुमान गर्न सकिनछ ।
होन्डा सिबी ३०० आरमा २८६ सीसी, फोर भल्भ इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा ३१.१ हर्स पावर र ७५०० आरपीएममा २७.५ न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा सिक्स स्पीड गियर बक्स र सिल्प एसिस्ट क्लच दिइएको छ ।
सिबी ३०० आरको अगाडि गोल्ड कलरको यूएसडी फर्क, पछाडि मोनोशक, ट्वीक्ड डिजाइन एग्जस्ट, सबै किसिमका लाइट एलइडी प्रयोग भएको यो मोटरसाइकलमा पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ ।


