सामान्य कार चढ्न मासिक ६० हजार तलव हुनु पर्ने, साना कार विक्नै छाडे

काठमाडौं । करिब २/३ वर्षअघि मासिक १२ देखि १५ हजार किस्तामा बजारमा नाम चलेका र राम्रो पर्फमेन्स भएका गाडी चढ्न सकिन्थ्यो । बजारले निकै रुचाएका हुन्डाई सेन्ट्रो, मारुती सुजुकी सेलेरियो, रेनो क्वीड, टाटा टियागो, डाट्सन रेडी गो, फोर्ड फिगो, फक्सवागेन पोलो, मारुती सुजुकी वागेनआर जस्ता चल्तीका मोडल मासिक ४० हजार आम्दानी गर्ने मानिसले खरिद गर्न सक्थे । अब यी कार चढ्न कम्तीमा मासिक आम्दानी ६०/७० हजार हुनु पर्ने भएको छ ।

अहिले समय फेरिएको छ । सन् २०१९ मा देखापरेको कोभिड १९ ले विश्व अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको छ । परिणाम त साना गाडीको मूल्य दुई वर्षमा निकै माथि पुगेको छ । यी दुई वर्षमा सामान्यत ३५ प्रतिशत हाराहारीले मूल्य बढेको छ ।

विशेषत मूल्य बढ्नुको मुख्य कारण नयाँ प्रदुषण मापदण्ड बीएस ६ लाई कारक मानिन्छ । त्यस्तै बढ्दो स्टील, प्लाष्टीक लगायतका कच्चा पदार्थको मूल्य बढ्दा गाडीको मूल्य बढ्दै गएको विक्रेता कम्पनीहरु बताउँछन् ।

सन् २०१९ मा करिब १६ लाखदेखि २१ लाख मूल्य रहेको अधिकांश गाडीको मूल्य अहिले २४ लाखदेखि २८ लाखसम्म पुगेको छ । यसले सामान्य ४० हजार आम्दानी हुने मानिसले यस्ता गाडी खरिद गर्न सक्ने अवस्था छैन ।

गाडीको मूल्यसँगै पछिल्ला केही महिनादेखि बढ्दो व्याजदरको कारण मारुती अल्टो ८०० को स्टायडर्ड भेरियन्ट किन्ने ग्राहकले पनि कम्तीमा २१ हजारभन्दा माथि मासिक किस्ता बुझाउनु पर्ने हुन्छ ।

अहिले गाडी किन्ने व्यक्तिको हकमा गाडीको मूल्यको ५० प्रतिशत रकम अनिर्वाय डाउन पेमेन्ट गर्नु पर्छ भने व्याजदर बढेर १२ देखि १३ प्रतिशतसम्म पुगेको छ । यसले सामान्य गाडी पनि धेरै मानिसको पहुँचभन्दा बाहिर पुगेको छ ।

बजारमा अहिले साना कार किन्ने मानिस नै पाउन मुस्कील भएको गाडी विक्रेताहरुको भनाई छ ।

‘साना कार खोज्ने ग्राहक धेरै हदसम्म रिकन्डिसनमा गएका छन् । नयाँ इन्ट्री लेभल कारमा ग्राहकको आकर्षण छैन । अहिले बजारमा विक्री हुने गाडी नै ३० लाखदेखि ६० लाखसम्मको धेरै छन्’, एक शोरुम इन्चार्जले भने ।

ग्राहकलाई गाडी विक्री गर्न सक्रिय शोरुम इन्चार्जको भनाईले पनि मानिसलाई साना ह्याचव्याक कारमा कुनै किसिमको आकर्षण नभएको प्रस्ट हुन्छ । मासिक १ लाख हाराहारी कमाई गर्नेको रोजाईमा प्रिमियम ह्याचव्याक वा सब फोर मिटर एसयूभी पर्ने गरेको बुझ्न सकिन्छ ।

मासिक ५० हजार हाराहारी आम्दानी गर्ने मानिसहरुले गाडीको सट्टा मोटरसाइकलमा नै विभिन्न अप्सन छनोट गरेर खरिद गर्ने गरेको पाइन्छ ।


Back_to_top