फक्सवागेनको उत्कृष्ट एसयूभी नेपालमा, यस्तो छ मूल्य

काठमाडौं । फक्सवागेनको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रालिले कम्पनीको टप रेन्जको फ्ल्यागसिप मोडल ‘टोरेक-आर’ नेपाल ल्याएको छ । फक्सवागेनको लोकप्रिय टोरेक अब आर-ट्रिटमेन्टका साथ फिचर थप भएर आएको हो ।

क्लास लिडिङ ठूला एसयूभीका लागि फक्सवागेन विश्वमै परिचित छ । नयाँ एसयूभी टोरेक-आरमा विश्व प्रसिद्ध ६ सिलिन्डर भी–६, ३.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ३४० पीएस पावर र ४५० एनएम टर्क जेनेरेट गर्छ ।

फक्सवागेन टोरेकलाई कम्पनीले आफ्ना अन्य ब्राण्ड पोर्श र अडीको सहयोगमा विकास गरेको हो । डिजाइनर फ्राङ्क ब्रुजले नयाँ टोरेक-आरको डिजाइन गरेका हुन् ।

टोरेक-आर एउटा ठूलो आकारको ‘फन-टु-ड्राइभ’ लक्जरी एसयूभी हो । यसलाई फक्सवागेन समूहले २००२ देखि उत्पादन गर्दै आएको छ । नेपालमा सन् २०१० मा आधिकारिक रूपमा विक्री सुरु भएको टोरेक निकै सफल मोडल हो ।

नयाँ टोरेक-आरमा आठ स्पीड अटोमेटीक गियरबक्स, २० इन्चको एलोय ह्वील, ट्रयाक्सन कन्ट्रोल र फोर ह्वील ड्राइभ सिस्टम पाउन सकिन्छ । १५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, १२ इन्चको डिजिटल क्लष्टर, हिटेड सिट, फ्रन्ट मसाज सिट, अटो होल्ड कन्ट्रोल, फुल पानारोमिक सनरुफ, रियर एलइडी टेल लाइट, हिल डिसेन्ट असिस्ट, हेड अप डिस्प्ले, टायर प्रेसर मोनिटरिङ, १४ स्पीकर जस्ता विभिन्न फिचर पाउन सकिन्छ ।

टोरेक-आरका विशेष सुविधाहरूमा एक्टिभ एयर सस्पेन्सन, अल–ह्वील स्टेयरिङ, एबीएस प्लस र डिफ्रेन्सीयल लक समावेश छन् । एयर सस्पेन्सनले सवारीको उचाइ बढाउनका साथै बटोमा गुड्दा भाइब्रेसन फिल हुँदैन ।

टोरेक-आर स्टाइलिस बोल्ड एक्सटेरियर र फ्रेस तथा भाइब्रेन्ट डिजाइनका साथ उपलब्ध छ । यसमा फ्रेमलेस इन्टेरियर रियर भ्यू मिरर, अटो डिमिङ र अटो फोल्डेबल साइड मिरर, ८१० लिटरको बुट स्पेस पाउन सकिन्छ ।

टप स्पीड क्षमता २५० किलोमिटर प्रतिघन्टा रहेको टोरेक आरले ५.९ सेकेन्ड मै ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । आकर्षक डिजाइन, इनोभेटिभ अपरेटिङ, सहजता र सुरक्षात्मक प्रणालीको कारण यसको माग संसारभर निकै राम्रो रहेको छ ।

कम्पनीले नयाँ टोरेक-आरको सुरुवाती मूल्य ३ करोड २५ लाख रुपैयाँ कायम गरेर विक्री सुरु गरेको छ ।


Back_to_top