काठमाडौं । नेपाल सरकारले पनि पुराना कार तथा मोटरसाइकललाई इलेक्ट्रीकमा परिवर्तन गर्ने व्यवस्था गरेको भएपनि कानुनी व्यवस्था नहुँदा व्यवसायीक परिमार्जन हुन सकिरहेको छैन ।
तर, भारतमा पुरानो हिरो स्प्लेन्डर मोटरसाइकललाई इलेक्ट्रीक मोटरसाइकलमा परिवर्तन गर्ने क्रम बढ्दो रहेको छ । स्प्लेन्डरलाई एक किट मार्फत इलेक्ट्रीकमा परिवर्तन गर्न सकिन्छ ।
भारतमा यसको बजारलाई ध्यानमा राख्दै ‘स्प्लेन्डर इलेक्ट्रीक कन्भर्जन किट’ को उत्पादन सुरु भएको छ भने बजार माग पनि बढ्दै गएको छ । यसको मूल्य ३५ हजार भारतीय रुपैयाँ तोकिएको छ ।
‘गोगोए१’ ले निर्माण गरेको उक्त किटलाई राष्ट्रिय हरित अधिकरण योजना अनुरुप दिल्ली सरकारले सूचीकृतसमेत गरेको छ । यो किटको प्रयोग पश्चात् हिरो स्प्लेन्डरमा एक पटकको फुलचार्जबाट १५१ किलोमिटर यात्रा गर्न सकिन्छ ।
यो किटको प्रयोगले संचालनमा आउन नसक्ने अवस्थामा पुगेका पेट्रोलबाट चल्ने मोटरसाइकललाई अझै लामो समयसम्म कम खर्चमा संचालन गर्न सकिन्छ । त्यस्तै यसले प्रदुषण समेत गर्दैन ।
गोगोए १ का चीफ अफिसर श्रीकान्त सिन्धेका अनुसार यो किटको माग ६० प्रतिशले वृद्धि भएको छ । कम्पनीले दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनलाई केन्द्रीत गरेर हाइव्रिड तथा पूर्ण इलेक्ट्रीक रुपान्तरण किटका लागि काम गर्दै आएको छ ।
कम्पनीले भारतको ५० भन्दा धेरै सहरमा यसको फ्रेन्चाइजी नेटवर्टको निर्माण गरिसकेको जनाएको छ ।


