होन्डा नेभीको २०२२ मोडल

काठमाडौं । होन्डाले एशिया, मध्यपूर्वी एशिया र ल्याटिन अमेरिकी देशमा विक्री गर्दै आएको नेभीको २०२२ मोडल सार्वजनिक भएको छ । होन्डाका अनुसार नेभीलाई स्कुटरको प्लेटफर्म र मोटरसाइकलको फिचर दिएर तयार पारिएको हो ।

भारत बाहेक विश्वका अन्य देशमा १ लाख ८० हजार यूनिट नेभीका ओनर रहेको र यसलाई ‘फन टु ड्राइभ’को रुपमा लिएर चलाइरहेको होन्डाले दावी गरेको छ । होन्डाले ५ वर्ष अघिबाट अन्तर्राष्ट्रिय बजारमा विक्री सुरु गरेको नेभीको २०२२ मोडलमा खासै धेरै परिमार्जन भनेको गरेको छैन ।

नेभीलाई धेरैले स्ट्रीट लिगल मोटरसाइकलको रुपमा लिने गरेका छन् । यसलाई चलाउने चालकसँग कम्तीमा स्कुटरको लाइसेन्स हुनु पर्छ । होन्डाले यसमा १०९ सीसी क्षमताको इन्जिन दिएको छ । यसको टप स्पीड ८८.५ किलोमिटर निर्धारण गरिएको छ ।

नयाँ नेभीलाई होन्डाले एफआई इन्जिनमा उपलब्ध गराउँदै आएको छ । नेपालमा भने बीएस ४ इन्जिनमा उपलब्ध रहेकोले यसमा कार्बुरेटर इन्जिन दिइएको छ । नेभी चालकले कुनै किसिमको तनाव उठाउनु पर्दैन । यसमा दिइएको सिभीटी गियरबक्सले स्कुटर चलाएको अनुभव दिलाउँछ ।

होन्डा नेभी निकै किफायती साधन हो । यसले उत्कृष्ट माइलेज दिन्छ भने यसको मर्मत सम्भार खर्चपनि निकै कम आउँछ । रेगुलर सर्भिसमा आउने खर्च पनि निकै किफायती रहेको छ ।

होन्डाले नेभीमा १५ लिटर क्षमताको स्टोरेज दिएको छ । यसमा सामानहरु राखेर लक गर्न सकिन्छ । यसमा हेल्मेट अटाउने छैन । तर, चालकले आफ्नो ज्याकेट, पन्जा, किताव लगायतका साना बस्तुहरु सहजै राख्न सक्नेछन् ।

नेभीको अर्को महत्वपूर्ण पक्ष भनेको चलाउन रमाइलो र नियन्त्रण गर्न सजिलो हुनु हो । बस्न सजिलो, हलुका र नियन्त्रण गर्न सजिलो भएकोले अमेरिकी बजारमा नेभीको माग बढी रहेको छ ।

नेपालमा पनि स्याकार ट्रेडिङले सन् २०१६ देखि विक्री वितरण गर्दै आएको नेभी १ लाख ६० हजार ९०० रुपैयाँ तोकेर विक्री हुँदै आएको छ । अमेरिकी बजारमा भने यसको मूल्य १ हजार ८०० डलर तोकिएको छ ।


Back_to_top