नेपालमा ५५ वर्षदेखि विक्री हुँदै आएको एक एसयूभी

काठमाडौं । टोयोटा ल्याण्ड क्रुजरः सन् १९५१ बाट टोयोटाले उत्पादन सुरु गरेको ल्याण्ड क्रुजर नेपाल आउन थालेको ५५ वर्ष भइसकेको छ । टोयोटाको आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिन्डकेट प्रालिले विक्री गर्दै आएको टोयोटा ल्याण्ड क्रुजर नेपालमा सर्वाधिक सफल प्रिमियम एसयूभी हो ।

ल्याण्ड क्रुजरको थर्ड जेनेरेशनबाट नेपाल आउन थालेको इतिहास छ । कम्पनीले सन् १९५५ देखि १९५९ सम्म पहिलो जेनेरेशन मोडल बजारमा ल्याएको थियो । जे २० र जे ३० नामबाट चिनिएको थियो । यही मोडल बाटै टोयोटाले अन्तर्राष्ट्रिय बजारमा विक्री सुरु गरेको हो ।

सन् १९६० मा ल्याण्डक्रुजरको ४० सिरिज सार्वजनिक भएको हो । फोर ह्वील ड्राइभ सिस्टम सहित आएको यो अफरोड एसयूभी दक्षिण अमेरिकी देशमा ‘बस ट्याक्सी’को रुपमा समेत प्रयोग भएको थियो ।

जस्तोसुकै बाटोमा पनि चलाउन मिल्ने ड्राइभिङ सिस्टमसहित आएपछि यो एसयूभी, यूरोप, अमेरिकादेखि खाडी देशमा समेत निकै रुचाइयो । अहिले पनि अरवियन देशहरु ल्याण्ड क्रुजरको सबैभन्दा ठूलो खरिदार हुन् ।

ल्याण्ड क्रुजरलाई विश्व बजारमा ५० हजार यूनिट पुर्याउन करिब १५ वर्षको लागेको थियो । सन् १९६५ मा ५० हजारको आँकडा भेट्टाएको ल्याण्ड क्रुजरले सन् १९६८ मा १ लाख यूनिटको आँकडा पुरा गरेको थियो ।

सन् १९७२ मा २ लाख यूनिटको विक्री आँकडा पुरा गरेको ल्याण्ड क्रुजरले सन् १९७९ मा ८ लाख यूनिट विक्री पुरा गरेको थियो । सन् १९८० मा १० लाख यूनिट पुरा गरेको टोयोटाले सन् २०१९ मा एक करोड यूनिटको विक्री आँकडा भेट्टाएको थियो ।

अहिले वार्षिक ४ लाख यूनिट विक्री हुँदै आएको ल्याण्ड क्रुजर सिरिजमा प्राडो र एलसी ३०० मोडल विक्री हुँदै आएका छन् । नेपालमा अहिले २ करोड ५० लाखदेखि ४ करोड ९२ लाखसम्मको ल्याण्ड क्रुजर खरिद गर्न सकिन्छ ।


Back_to_top