विद्युतीय मोटरसाइकलमा केटीएमको आक्रमक ‘मुभ’

काठमाडौं । विद्युतीय मोटरसाइकल उत्पादनमा केटीएमले आक्रमक ‘मुभ’ सुरु गरेको छ । अष्ट्रियन ब्राण्डले केटीएम र स्वीडीस ब्राण्ड हस्कभर्नाको माउ (अभिभावक) कम्पनी पियरर मोविलिटीले दुबै ब्राण्ड नेममा इलेक्ट्रीक मोटरसाइकल ल्याउने भएको हो ।

पियरर मोविलिटीले हस्कभर्ना तथा केटीएमका इलेक्ट्रीक मोटरसाइकलको निर्माण सुरु गरेको रिपोर्टहरु बाहिर आएका हुन् । कम्पनीले केटीएम ब्राण्ड अन्तर्गत ३ र हस्कभर्ना ब्राण्ड अन्तर्गत १ मोटरसाइकल ल्याउनेगरी काम सुरु गरेको हो ।

केटीएम ब्राण्ड नेममा ई १०, फ्रि राइड ई एलभी र इ ड्युक आउने छ भने हस्कभर्ना ब्राण्ड नेममा इ पिलेन निर्माण गर्नेछ । कम्पनीका अनुसार ड्युकको प्लेटर्फममा नै इलेक्ट्रीक मोटरसाइकल निर्माण हुनेछन् ।

कम्पनीले इ ड्युकको सामान्य जानकारी मात्र बाहिर ल्याएको छ । इ ड्युकमा १० किलोवाटको इलेक्ट्रीक मोटर जडान हुनेछ । जसमा ५.५ किलोवाटको व्याट्री प्याक रहने छ । हस्कभर्ना इ पिलेनमा पनि समान मोटर तथा व्याट्री रहने जनाइएको छ । कम्पनीले केही समय अगाडि इ पिलेनको कन्सेप्ट तयार पारेको थियो ।

यी मोटरसाइकलमा नन् स्वापएवले व्याट्री हुनेछ । यो व्याट्रीले १०० किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ । कम्पनीले नयाँ मोटरसाइकल सार्वजनिक गर्ने मितिको विषयमा केही बताएको छैन । सन् २०२३ को अन्त्यसम्ममा यो मोटरसाइकल बजारमा आउने अनुमान गरिएको छ ।

भारतीय बजारमा यो मोटरसाइकल उत्पादन हुन्छ वा हुँदैन भन्ने कुरा अहिले स्पष्ट बाहिर आएको छैन । बजाज र पियरर कम्पनीबीच सहकार्य रहेको छ । केटीएम मोटरसाइकलको लागि भारत ठूलो बजार रहेको छ । यसै कारण पनि हस्कभर्ना तथा केटीएमको इलेक्ट्रीक मोटरसाइकल भारतमा समेत उत्पादन तथा विक्री हुने अनुमान गर्न सकिन्छ । यी दुई कम्पनीबीच इलेक्ट्रीक स्कुटर निर्माण गर्ने सम्झौता पहिले नै भइसकेको छ ।


Back_to_top