एमजीले सानो इलेक्ट्रीक कार ल्याउने, रेन्ज १५० किमि

काठमाडौं । एमजी (मोरिस ग्यारेज)ले सानो इलेक्ट्रीक कार ल्याउने भएको छ । कम्पनीले सहर केन्द्रीत सानो इलेक्ट्रीक कार ल्याउने तयारी गरेको हो ।

चीनमा एसएआईसी-जीएम-विलिङ मिलेर साना इलेक्ट्रीक कार उत्पादन र विक्री गरिरहेका छन् । एसएआइसीको स्वामित्वमा रहेको एमजी ब्राण्डमा पनि सानो इभी ल्याउन लागेको हो ।

एसएआईसी-जीएम-विलिङको ‘ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल’ (जीएसइभी) प्लेटफर्ममा कम्पनीले ‘इ-२३०’ मोडल बजारमा ल्याउने तयारी गरेको हो । अहिले कम्पनीले इ-१००, इ-२००, इ-३०० र इ-३०० प्लस मोडलको साथमा सर्वाधिक चर्चित विलिङ मिनि उत्पादन गर्दै आएको छ ।

कम्पनीले ल्याउन लागेको नयाँ मोडल इ-२३० विशेषत राइट ह्याण्ड ड्राइभ बजारलाई केन्द्रमा राखेर बनाउन लागेको हो । यसलाई एमजीको भारतमा रहेको प्लान्टमा उत्पादन गर्ने तयारी कम्पनीले गरिरहेको रिपोर्ट बाहिर आएका छन् ।

दुई वटा मात्रै ढोकाको प्रयोग हुने यो कारमा ४ सिट रहने छ । नयाँ इभीको सम्बन्धमा एमजी इन्डियाका प्रेसिडेन्ट तथा प्रबन्ध निर्देशक राजीव छावाका अनुसार कम्पनीले पहिला इलेक्ट्रीक क्रसओभर र त्यसपछि सानो सहर केन्द्रीत मिनि इभी बजारमा आउने छ ।

एमजीले ल्याउने इ-२३० पनि सुरक्षाको हिसावले उत्कृष्ट रहने अनुमान गरिएको छ । एबीएसको साथ इबीडी, पार्किङ सेन्सर, ड्यूल एयरव्याग, कनेक्ट कार फिचर पाउन सकिन्छ ।

कम्पनीले आधिकारीक रुपमा जानकारी नदिए पनि एमजीले यसमा २० किलोवाट आवरको ब्याट्री रहने छ । यसलाई फुल चार्जमा १५० किलोमिटरसम्म गुडाउन सकिन्छ । यसमा ४० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने छ ।


Back_to_top